काठमाडौं, २५ चैत । तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा नेपाल ए आयरल्यान्ड ए सँग ६९ रनले पराजित भएको छ । योसँगै तीन खेलको सिरिजमा नेपाल ए ले ‘क्लिनस्विप’को हार व्यहोरेको छ ।
जितका लागि २८५ रनको लक्ष्य पछ्याएको नेपाल ३९.४ ओभरमा २१५ रनमा अल आउट भयो । ओपनर अर्जुन कुमालले ११८ बलमा १४ चौकासहित १०२ रनको शतकीय इनिङ खेले ।
यस्तै अर्का ओपनर अर्जुन साउद ३० बलमा ४ चौका र ३ छक्कासहित ३६ रन बनाए । देव खनालले ११, नरेन भट्टले १५, विनोद भण्डारीले ४, भीम सार्की डक र रुपेश सिंह १५ रनमा आउट भए ।
त्यस्तै आयरल्यान्डका बेन ह्वाइटले १० ओभरमा १ मेडनसहित ६२ रन खर्चेर ५ विकेट लिए । गेभिन होइले ४ र म्याथ्यु फस्टरले १ विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनाएको थियो ।
नेपाल पहिलो खेलमा २७ रन र दोस्रोमा ११४ रनले पराजित भएको थियो ।