काठमाडौं, २५ चैत । नेपालले भारतमा आयोजित एसएमएस फ्रेन्डसीप कप क्रिकेटको उपाधि जितेको छ । नेपालले आइतबार भएको फाइनल खेलमा गुजरातलाई १८ रनले पराजित गर्दै नेपालले एसएमएस फ्रेन्डसिप कपको उपाधि जित हात पारेको हो ।
नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएको गुजराजले २० ओभरमा ८ विकेट गुमाएर १५८ रन मात्र बनाउन सक्यो । यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।
नेपालका कप्तान रोहित पौडेलले ४७ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७४ रन बनाए । यस्तै ओपनर आसिफ शेख ३४ बलमा २ चौका र १ छक्कासहित ३४ मा आउट भए भने कुशल भुर्तेल २१ बलमा १९ रनमा क्याच आउट भए । त्यस्तै कुशल मल्ल १३ बलमा २ चौका र २ छक्कासहित ३१ तथा सन्दीप जोरा ७ रनमा नट आउट भए । दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए ।