काठमाडौं, २६ चैत । सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार संसद अवरोध खुलाउने विषयमा सोमबार दिउँसो २ बजे सिंहदरबारमा शीर्ष नेताहरूसँग छलफल गर्न घिमिरेले बैठक आह्वान गरेका हुन् ।
यसअघि बिहान १० बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनमा भएकाले सारिएको अधिकारीले बताए । बैठकका निम्ति प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेलाई बोलाइएको छ ।
कांग्रेसले उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आइरहेको छ । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री लामिछानेको नाम जोडिएकोमा छानबिन गर्नुपर्ने ठाँउमा प्रधानमन्त्रीले ढाकछोप गरेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठन नगरे संसद बैठक अवरूद्ध गर्ने चेतावनी दिएको थियो ।
संसदको अवरोध खुलाउने विषयमा यसअघि सभामुख घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए। उक्त छलफलमा कांग्रेसले उपप्रधानमन्त्री लामिछानेलाई संसदको रोष्ट्रम प्रयोग गर्न नदिने शर्तमा संसद बैठक चल्न दिने भनेको थियो ।