काठमाडौं, २६ चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन् । सोमबार सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा प्रदेश सभा सचिवालयले एक सूचना निकाल्दै गिरीलाई पदमुक्त गरेको हो ।
सूचनामा भनिएको छ, ‘‘प्रदेशसभा सदस्य माननीय इन्दिरा गिरीलाई फिर्ता बोलाइएको भनी सुदूरपश्चिम प्रदेश सभाको सचिवलयमा पेस भएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ बमोजिम सूचना प्रकाशित गर्न सभामुखको निर्देशन भएको हुँदा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
समानुपातिक सांसद गिरी कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नेतृत्वको सरकारमा कृषि राज्यमन्त्री समेत हुन् । आफ्नो निर्देशन पालना नगरेको भन्दै अध्यक्ष रञ्जिताले गिरीलाई फिर्ता बोलाएको पत्र सभामुखलाई पठाएकी थिइन् ।