कठमाडौं, २७ चैत । नेपाली कांग्रेस संसदीय दलको बैठकले सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समिति गठन हुनुपर्ने सर्वसम्मत निर्णय गरेको छ ।
बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठन हुनुपर्ने नेपाली कांग्रेसको मागलाई संसदीय दलले उचित छ भन्ने ठहर गरेको बताए ।
बैठकपछि उनले भने, ‘उपप्रधानमन्त्री एवम् गृहमन्त्री माननीय रवि लामिछाने जी सहकारीको रकम अपचलन गर्ने काममा संलग्न भएको कुरालाई हामीले उठाइरहेका छौं । त्यसको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धानका निमित्त संसदीय समिति गठन गर्ने माग हामीले गरिराखेका छौं । आजको संसदीय दलले नेपाली कांग्रेसले उठाउँदै आएको काम उचित छ भन्ने ठहर गरेको छ, सर्वसम्मतीले ।’
यस्तै उक्त बैठकले तत्काल नेपाली कांग्रेसको माग बमोजिम संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णयसमेत गरेको छ । कांग्रेसको माग सम्बोधन नभए संसद अवरोधको जिम्मा सरकारले लिनुपर्ने उनको चेतावनी छ ।
यस्तै नेपाली कांग्रेसले संसदीय समितिका बैठकहरुमा अनिवार्य रुपले उपस्थित भएर छलफलमा भाग लिन आफ्नो पार्टीका संसदहरुलाई निर्देशन दिनुका साथै कांग्रेसले सामाजिक सदभाव, धार्मिक सहिष्णुता र एकता कायम राख्न सबैलाई आह्वान गरेको छ ।