काठमाडौं, २७ चैत । राप्रपाको प्रदर्शनमा प्रहरीले पानीको फोहोरा हानेको छ । मंगलबारबाट ४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएकोे जुलुस भृकुटीमण्डपबाट सुरु भएको थियो । प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर काठमाडौँको भद्रकालीबाट सिंहदरबारतर्फ अघि बढ्न खोज्दा झडप भएको हो ।
सिंहदरबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । तर जुलुस अगाडि बढेपछि प्रहरीले पानीको फोहोरा हानेको छ ।
राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित जनप्रदर्शन गरेको हो । यसलाई राप्रपाको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ ।
राप्रपा गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ । त्यसैले राप्रपाले आजको प्रदर्शनलाई ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मुख्य नाराका साथ आन्दोलनमा उत्रिएको छ ।