काठमाडौं, २७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उच्चस्तरीय स्वतन्त्र छानबिन समितिको गठन गर्नुपर्ने माग राखेको छ । मंगलबार बिहान बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठकले २०४७ यताका उच्च पदस्थ पदमा बसेका सबै व्यक्तिमाथि छानबिन हुने गरी उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग गरेको हो ।
रास्वपा सांसद हरि ढकालले बैठकले प्रमुख प्रतिपक्ष दल कांग्रेसले विना आधार संसदीय छानबिन समितिको माग गरेको निष्कर्ष निकालेको बताए । उनले भने, ‘आधार विना हल्लाको भरमा यस गरिमामय सदनमा संसदीय छानबिन समितिको माग गर्नाले संसदीय व्यवस्थाको नै उपहास भएको छ,’ बैठकको निर्णयमा भनिएको छ ।
हल्लाकै आधारमा संसदीय छानबिन समिति गठन गर्नु न्यायोचित नहुने रास्वपाले जनाएको छ । यस्तै नयाँ समीकरण बनेपछि न्यूनतम साझा संकल्पमा कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार छानबिन गरिने संकल्प गरेको समेत रास्वपाले जनाएको छ ।
रास्वपा बैठकको निर्णयमा भनिएको छ, ‘हामी आह्वान गर्न चाहन्छौं, प्रतिपक्षी दललाई । एउटा निष्पक्ष , विज्ञसहितको उच्चस्तरीय स्वतन्त्र छानबिन समिति बनाऔँ । जसले आम जनताबाट सबै प्रकारको उजुरी लेओस्, त्यसले छानबिन गरोस् सबै सासंदमाथि ।’