काठमाडौं, २७ चैत । गण्डकी प्रदेशमा सरकार बनाउन सभामुखलाई पनि गणना गरेर बहुमत पु¥याइएको विषयलाई लिएर सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । निवर्तमान मुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले उक्त नियुक्ति खारेजी र ठूलो दलको नेताको हैसियतले आफूलाई मुख्यमन्त्री माग गर्दै मंगलबार रिट दर्ता गरेका हुन् ।
पाण्डेका कानुनी सल्लाहकार चिरञ्जीवी शर्मा पौडेलका अनुसार प्रदेश प्रमुख डिल्लीराज भट्ट, प्रदेश प्रमुखको कार्यालय गण्डकी प्रदेश, मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता खगराज अधिकारी, सभामुख कृष्णप्रसाद धिताललाई विपक्षी बनाइएको छ । अन्तरिम आदेश माग गरिएकोमा त्यसमाथि छलफल गर्न बुधबार पेसी तोकिएको छ ।
यही चैत २५ मा प्रदेश प्रमुख डिल्लीराज भट्टले नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । एमालेका २२, सभामुखसहित माओवादीका आठ र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थन रहेको देखाएर अधिकारी मुख्यमन्त्री बनेका थिए ।