काठमाडौं, २८ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुग्ने व्यवस्थाको प्राथमिकता दिएकोले यस विषयलाई कार्यान्वयनमा ल्याउन सरकार गम्भीर हुनुपर्ने बताएका छन् । बुधबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुग्ने गरी व्यवस्था गर्ने र सेवालाई पूर्णतया निःशुल्क बनाउनुपर्ने बताए।
यस्तै उनले स्वास्थ्य क्षेत्रले विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय दस्तावेजहरूद्वारा निर्दिष्ट लक्ष्य तथा दिशाहरूको आधारमा अवलम्बन गरेका स्वास्थ्य क्षेत्रका लक्ष्य प्राप्त गर्न नेपाल सरकारले स्वास्थ्य अनुसन्धानमा लगानी बढाउन र नवप्रर्वतनलाई प्रोत्साहित गर्न जरुरी रहेको बताए ।
पौडेलले आधुनिक समयमा स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न समस्याको पहिचान गर्न तथा ती समस्याको समाधानका लागि सो क्षेत्रमा निरन्तर अध्ययन, अनुसन्धान र विकास हुन जरुरी रहेको बताए । साथै उनले स्वास्थ्य क्षेत्रले विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय दस्तावेजद्वारा निर्दिष्ट लक्ष्य तथा दिशाको आधारमा अवलम्बन गरेका स्वास्थ्य क्षेत्रका लक्ष्य प्राप्त गर्न, नेपाल सरकारले स्वास्थ्य अनुसन्धानमा लगानी बढाउन र नवप्रर्वतनलाई प्रोत्साहित गर्नु जरुरी रहेको उल्लेख गर्दै अनुसन्धानका निष्कर्षलाई व्यावहारिक समाधानमा रुपान्तरण गर्न शौक्षिक संस्था, उद्योग र सरकारबीचको सहकार्यलाई पनि बढावा दिनुपर्ने धारणा व्यक्त गरे ।
राष्ट्रपति पौडेलल परिषद्ले नेपालमा फैलिएको कोभिड–१९ को बारेमा विभिन्न वैज्ञानिक अध्ययन अनुसन्धान गरी यस महामारीको रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको प्रशंसा गरे । सार्वजनिक स्वास्थ्यमा आम जनताको पहुँच स्थापित गर्न सरकारले कदम चाल्नुपर्ने उनको भनाइ थियो।