काठमाडौं, २८ चैत । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् । बुधबार राष्ट्रिय सभामा भएको उपाध्यक्षको निर्वाचनमा घिमिरे नेपाली कांग्रेसका उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।
निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी घिमिरेले ३९ मत प्राप्त गरिन् भने उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले १६ मत पाइन् । घिमिरेलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले मत दिएका थिए । पुडासैनीलाई कांग्रेस र लोसपाका सांसदले मत दिए । मतदानमा ५५ सदस्य सहभागी भएका थिए ।
मतदानअघि बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त पदमा नेपाली कांग्रेसका पुडासैनी र नेकपा (एमाले) का घिमिरेलाई निर्वाचित गरियोस् भन्ने दुई प्रस्तावबारे जानकारी गराएका थिए । बैठकमा दुवै प्रस्तावका प्रस्तावक र समर्थकले मन्तव्य राखेपछि मत विभाजनमार्फत निर्वाचन भएको थियो ।