काठमाडौं, २८ चैत । कोशी प्रदेशमा प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको छ । बुधबार कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख ६ गतेका लागि प्रदेशको अधिवेशन आह्वान गरेका हुन् ।
चैत २६ मा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रका ५२ सांसदले अधिवेशन मागसहित निवेदन दिएका थिए । सोही दिन मुख्यमन्त्री केदार कार्कीले मन्त्रीपरिषद्को निर्णय अनुसार ११ जेठ २०८१ मा संसदको नियमित अधिवेशन आह्वानका लागि निवेदन दिएका थिए ।
सरकारले गरेको सिफारिसभन्दा अघि नै दर्ता भएको समावेदनअनुसार प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेका हुन् ।
खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा ३ अनुसार अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।