काठमाडौं, २९ चेत । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्ष (आव) २०८०÷८१ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ । एडीबीले बिहीबार ‘एसियन डेभलपमेन्ट आउटलुक २०८०’ सार्वजनिक गरी नेपालको अर्थतन्त्र उक्त दरमा बढ्ने प्रक्षेपण गरेको हो । एडीबीले गत आव २०७९÷८० मा १.९ प्रतिशतले वृद्धि दर प्रक्षेपण गरेको थियो ।
केही दिनअघि विश्व बैंकले नेपालको आर्थिक वृद्धि दर ३.३ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको थियो । सरकारले भने चालु आवमा ७ प्रतिशत हाराहारी वृद्धि दर अनुमान गरेको छ ।
चालु आवमा धान उत्पादन बढ्नु, ऊर्जा उत्पादनमा हुने वृद्धि सकारात्मक रहेको देखिनुका साथै निर्माण र व्यापार केही सुस्ताए पनि यस क्षेत्रमा सुधार भए अर्थतन्त्र अझ धेरै विस्तार हुने एडीबीले जनाएको छ ।
नेपालका लागि एडीबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले भने, ‘मौद्रिक नीतिमा क्रमिक लचकतासँगै उपभोक्ता र लगानीकर्ताको आत्मविश्वासमा सुधार भएका कारण नेपालको आर्थिक गतिविधि प्रोत्साहित हुने अपेक्षा गरिएको छ । यसबाहेक सरकारले आर्थिक वर्षको पछिल्लो ६ महिनामा पूँजीगत खर्चमा दिएको तीव्रता र आर्थिक वर्ष २०८०÷८१ अन्त्यसम्म थप जलविद्युत् परियोजनाको उत्पादन सुरु भई २०७९÷८० मा औद्योगिक वृद्धि बढ्दै जाने प्रक्षेपण छ ।’
यस्तै नेपालको महँगी दर विस्तारै सिथिल हुने प्रक्षेपण एडीबीले गरेको छ । तेलको मूल्य घटेको सकारात्मक प्रभाव महँगी दरमा देखिने र व्यापार घाटा घट्नाले तथा विप्रेषण बढ्नाले चालु खाता घाटा खुम्चने अनुमान बैंकको छ । साथै एडीबीले नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नती हुन व्यापार सहजीकरणको प्रयास बढाउनुपर्ने सुझाव दिएको छ ।
एडीबी आउटलुक अनुसार कर्जा नियन्त्रणमा सहजता, ब्याजदरमा थप गिरावट र पर्यटन आयमा विस्तारले सेवा क्षेत्रको वृद्धिले पनि गति दिने छ । धान उत्पादन वृद्धि भए पनि हिउँदे वर्षा कम हुँदा हिउँदे बाली र अन्य कृषि उत्पादनमा आएको कमीले कृषि क्षेत्रमा पनि २०७९÷८० को २.७ प्रतिशतको दाँजोमा २.८ प्रतिशतको सीमान्त वृद्धि हुन सक्ने छ ।
आउटलुक अनुसार नेपालको वाह्य क्षेत्र जोखिम सापेक्ष रूपमा नियन्त्रणमा छ । चालु आव पहिलो ६ महिना बचतमा रहे पनि चालु खता पुनः घाटामा जान सक्ने देखिन्छ । अघिल्लो आवको सोही अवधिसँग दाँज्दा वार्षिक व्यापार घाटा ४.७ प्रतिशतले घटेको छ । विप्रेषण आप्रवाह २२.६ प्रतिशतले बढेको छ भने चालु खाता १ अर्ब २० करोड अमेरिकी डलर बचतमा छ ।
यद्यपि, चालु आर्थिक वर्ष बाँकी अवधिमा उच्च आयात र स्थिर विप्रेषण आप्रवाहले चालु खाता घाटा कुल गार्हस्थ उत्पादन (जीडीपी) को शून्य दशमलव ७ प्रतिशत पुग्ने प्रक्षेपण आउटलुकको छ ।
‘विश्व अर्थतन्त्रमा देखापर्न सक्ने शिथिलताले नेपालको पर्यटन तथा विप्रेषण प्राप्तिमा प्रभाव पर्न गई चालु आवको आर्थिक परिदृश्यमा ह्रास आउने जोखिम रहेको छ,’ एडीबीका प्रमुख अर्थशास्त्री इयान हासिनले भने ।
आउटलुकमा गहिरिँदो भूराजनीतिक हलचलले आपूर्ति शृङ्खलामा हुन सक्ने अवरोधले विश्वव्यापी मुद्रास्फीति र वित्तीय अवस्थामा कडाइ सिर्जना गर्न सक्छ । यसले आन्तरिक मौद्रिक नीति कसिलो बनाउन प्रेरित गर्नुका साथै लगानी र उपभोगमा ह्रास आई आर्थिक वृद्धि तल धकेल्न सक्छ ।