काठमाडौं, ३० चैत । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै छन् । त्यसका लागि आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बस्दै छ ।
नेकपा माओवादी केन्द्रका नेता महरा यही चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शपथ र पदभार ग्रहण भने उनले २५ गते गरेका थिए ।
केन्द्रमा सत्ता समीकरण बदलिएअनुसार लुम्बिनी प्रदेशमा अल्पमतमा परेपछि नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि माओवादी केन्द्र संसदीय दलका नेता महरा ४८ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
उनलाई सत्ता गठबन्धन दल नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, नेकपा एकीकृत समाजजादी १ र स्वतन्त्र सांसद खड्क बस्नेतले समर्थन गरेका थिए ।