काठमाडौं, ३० चैत । नेपालमा पछिल्लो समय मोबाइल र इन्टरनेट प्रयोगकर्ता बढेसँगै डिजिटल प्रणाली मार्फत गरिने भुक्तानी समेत बढ्न थालेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८०÷८१ को आठ महिनामा डिजिटल प्रणालीमार्फत रु.४९ खर्ब ८७ अर्ब २६ करोडभन्दा धेरै भुक्तानी भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ४२ दशमलव ६२ प्रतिशतले बढी हो । गत आवको माघसम्ममा डिजिटल प्रणालीमार्फत रु. ३४ खर्ब ९६ अर्ब ६५ करोड मात्र भुक्तानी भएको थियो ।
राष्ट्र बैंकका अनुसार फागुनसम्ममा १२ वटा भुक्तानी प्रणाली (पेमेन्ट सिस्टम) छन् । यी मध्ये सबैभन्दा धेरै रियल टायम ग्रस सेटलमेन्ट (आरटिजिएस) मार्फत भुक्तानी भएको छ । फागुनसम्ममा आरटिजिएसमार्फत ३४ खर्ब ५३ अर्ब ७४ करोडभन्दा धेरैको भुक्तानी भएको छ, जुन गत आवको माघसम्मको तुलनामा ५१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा आरटिजिएसमार्फत २२ खर्ब ८७ अर्ब २५ करोडको भुक्तनी भएको थियो ।
आरटिजिएस पछि भुक्तानी हुने मध्ये दोस्रोमा रहेको कनेक्टआइपिएसमार्फत आठ महिनामा रु. ४ खर्ब ८३ अर्ब १८ करोड भुक्तानी भएको छ, जुन गत आवको फागुनसम्मको तुलनामा गत आवको सो अवधिमा डिजिटल प्रणालीमार्फत ३ खर्ब ४० अर्बको भुक्तानी भएको थियो ।
यस्तै तेस्रोमा रहेको ईलेक्ट्रोनिक चेक क्लियरिंग (इसीसी) मार्फत फागुनसम्मा रु.४ खर्ब ८० अर्ब ५० करोडको भुक्तानी भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ४ दशमलव ९५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा इ.सी.सी मार्फत रु. ४ खर्ब ५७ अर्ब ८१ करोडको भुक्तानी भएको थियो ।
चालु आवको फागुनसम्ममा मोबाइल बैंकिङमार्फत २ खर्ब ९१ अर्ब ९५ करोड भुक्तानी भएको छ । त्यस्तै अन्तरबैंक भुक्तानी प्रणाली (आइपिएस) बाट १ खर्ब ८८ अर्ब १६ करोड, क्युआरबाट ४२ अर्ब ५६ करोड, वालेटबाट २४ अर्ब २ करोड, इन्टरनेट बैंकिङबाट १४ अर्ब ३३ करोड, पिओएसमार्फत ५ अर्ब १८ करोड, क्रेडिट कार्ड बाट १ अर्ब ७६ करोड, प्रिपेइड कार्डबाट ६१ करोड र इ–कमर्समार्फत ६० करोड भुक्तानी भएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।