काठमाडौं, २ बैसाख । पछिल्लो एक वर्षको अवधिमा बैंकको खराब कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ फागुनमा बैंकको खराब कर्जा (एनपिएल) ३ दशमलव ७३ प्रतिशत रहेको छ, जुन गत आवको फागुनको तुलनामा १ दशमलव १ प्रतिशत विन्दुले बढी हो । गत आवको सो अवधिमा बैंकको खराब कर्जा २ दशमलव ६३ प्रतिशत मात्र थियो ।
फागुनसम्ममा खराब कर्जा सबैभन्दा धेरै वित्त कम्पनीमा छ । सो अवधिमा वित्त कम्पनीको मात्रै ९ दशमलव १८ प्रतिशत खराब कर्जा रहेको छ । यस्तै बाणिज्य बैंक र विकास बैंकको खराब कर्जा क्रमशः ३.६३ प्रतिशत र ३.६१ प्रतिशत रहेको छ ।
आठ महिनामा बैंकको सीडी रेसियो भने ८० प्रतिशतबाट झरेको छ । राष्ट्र बैंकका अनुसार फागुनसम्ममा बैंकको सीडी रेसियो ७९ दशमलव ८७ प्रतिशत रहेको छ, जुन गत आवको सो अवधिको तुलनामा ५ दशमलव ७३ प्रतिशत विन्दुले कम हो । गत आवको फागुनसम्ममा बैंकको सीडी रेसियो ८५ दशमलव ६० प्रतिशत थियो । फागुनसम्ममा बाणिज्य बैंकको सीडी रेसियो ७९ दशमलव ६४ प्रतिशत छ । त्यस्तै विकास बैंक र वित्त कम्पनीको सीडी रेसियो क्रमशः ८२.६९ प्रतिशत र ७७ दशमलव ६५ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार फागुनसम्ममा नेपालको कुल गार्हस्थ्य उत्पादनको अनुपातको तुलनामा बैंकको निक्षेप ११५ प्रतिशत रहेको छ, जुन गत आवको फागुनसम्मको तुलनामा ३.४ प्रतिशत विन्दुले बढी हो । गत आवको सोही अवधिका यस्तो नक्षेप १११.६० प्रतिशशत थियो ।
सो अवधिमा कुल गार्हस्थ्य उत्पादनको अनुपातको तुलनामा बैंकको लगानी (क्रेडिट) ९४ दशमलव ६१ प्रतिशत रहेको छ । साथै कुल निक्षेपमा बैंकको लगानी ८२ दशमलव २८ प्रतिशत रहेको छ ।
यस्तै फागुनसम्ममा बैंकको कुल निक्षेपमा मुद्दती निक्षेप ५८ दशमलव ४० प्रतिशत रहेको छ । त्यस्तै कुल निक्षेपमा बचत निक्षेप र चालू निक्षेप क्रमशः २७.८१ र ६.५७ प्रतिशत रहेको छ । साथै कुल निक्षेपमा कल निक्षेप ५.५३ प्रतिशत रहेको छ ।