काठमाडौं, २ बैसाख । चालू आर्थिक वर्षको तिन महिना मात्रै बाँकी रहँदा सरकारको पूँजीगत खर्च निराशाजनक रहेको छ । महालेखा नियन्त्रण कार्यालयको तथ्याङ्क अनुसार २०८० सालको अन्तिम दिन अर्थात चालू आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमास (चैत सम्म) मा सरकारको पूँजीगत खर्च ९७ अर्ब ३७ करोड ७४ लाख मात्र रहेको छ, जुन यस वर्षका लागि पूँजीगत खर्चतर्फ छुट्याइएको वार्षिक बजेट विनियोजनको ३२ दशमलव २४ प्रतिशत मात्र हो । सरकारले चालू आवका लागि पूँजीगत खर्चतर्फ रु. ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख बजेट विनियोजन गरेको थियो ।
यस्तै चालू आवको ९ महिनामा सरकाले चालूतर्फ रु. ६ खर्ब ४४ अर्ब २ करोड ५४ लाख मात्रै खर्च गरेको छ, जुन यस वर्षका लागि चालूगत खर्चतर्फ छुट्याइएको वार्षिक बजेट विनियोजनको ५६ दशमलव ४१ प्रतिशत मात्र हो । सरकारले यस वर्षका लािग चालूगत खर्चतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बजेट विनियोजन गरेको थियो ।
तेस्रो त्रैमाससम्ममा सरकारले वित्त व्यवस्थापन तर्फ वार्षिक बजेट विनियोजनको ५४ दशमलव ६४ प्रतिशत मात्र खर्च गरेको छ । यस वर्षका लागि वित्त व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब ४५ करोड ३६ लाख बजेट विनियोजन गरेको सरकारले ९ महिनासम्ममा १ खर्ब ६७ अर्ब ९८ करोड मात्र खर्च गरेको छ ।
चालू आवको तेस्रो त्रैमाससम्ममा सरकारले कुल खर्च रु. ९ खर्ब ९ अर्ब ३९ करोड १४ लाख मात्र खर्च गरेको छ, जुन सरकारको वार्षिक बजेट विनियोजनको ५१ दशमलव ९३ प्रतिशत मात्र हो । सरकारले यो वर्षका लािग कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बजेट विनियोजन गरेको थियो ।
यस्तै ९ महिनासम्ममा सरकारको आम्दानी पनि सन्तोषजनक छैन । तेस्रो त्रैमाससम्ममा सरकाले वार्षिक लक्ष्यको ५२ दशमलव ५८ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । सरकारले चालू आवका लागि कुल १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । तर चैतसम्ममा ७ खर्ब ४८ अर्ब ४ करोड १२ लाख मात्र राजस्व संकलन भएको छ ।