काठमाडौं, २ बैसाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस आक्रोश र पीडामा रहेकाले मनलाग्दी बोलिरहेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले संसद अधिवेशन अन्त्य गर्दैमा कांग्रेस आक्रोशमा आउन आवश्यक नभएको बताए ।
हिउँदे र बजेट अधिवेशनका बीचमा कम्तीमा १५ दिनको खाली समय राख्नुपर्ने भएकाले हिउँदे अधिवेशन अन्त्यको उपयुक्त समय यही भएको ओलीले बताए । उनले भने, ‘अहिले अधिवेशन अन्त्य गरेन भने बजेट अधिवेशन, नीति, कार्यक्रम, प्रि बजेट डिस्कसन आदिको कुराहरु, बजेटको तयारी, प्रस्तुति, विभिन्न विधेयकहरुको तयारी छलफल, अनि यो अल्झिएर मात्रै बस्ने कुरा त भएन । अहिले ठीकै हो । यतिबेला बन्द हुनै पथ्र्यो हिउँदे अधिवेशन र अब बजेट अधिवेशन सुरु हुनैपर्छ ।’
नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन गर्नुपर्ने आफूहरुको माग छल्न सरकारले अधिवेशन अन्त्य गरेको भन्दै विरोध जनाइरहेको बेला ओलीले कांग्रेसको उक्त अभिव्यक्ति आक्रोश र पीडामात्र भएको टिप्पणी गरे ।
उनले भने, ‘कांग्रेसले आक्रोश, पीडाले जे पायो त्यही बोलिराखेको छ क्या । यस्तो गर्नुहुँदैन । संसदीय प्रणालीलाई हामीले रक्षा गर्नुपर्छ । त्यसको नर्म्स्, भ्यालुज कसरी अगाडि बढ्ने भन्नेकुराको सीमा हुन्छ, कसरी चल्ने, चलाउने भन्ने कुरा । हाम्रा पुराना यति अनुभव लिएर चल्नुपरेन ? उहाँहरु तर्कमा आउनुहुन्न । ढिपी, जिद्दीमा जानुहुन्छ । त्यो तरिका उहाँहरुले सच्याउनुपर्छ ।’