काठमाडौं, २ बैसाख । सरकारले संसदको चालु अधिवेशनको अन्त्य स्वाभाविक प्रक्रियाअन्तर्गत भएको बताएको छ । आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिकपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसद अधिवेशन स्वाभाविक प्रक्रियाअन्तर्गत अन्त्यका लागि सिफारिस गरिएको बताइन् ।
शर्माले स्वाभाविक रूपमा भएको संसद अधिवेशनको अन्त्यलाई अरु अर्थमा बुझ्न नहुने बताइन् । यस्तै उनले सरकार संसदमा उठेका प्रश्नबाट भाग्न खोज्यो भन्ने नेपाली कांग्रेसको आरोप गलत भएको बताइन् । आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी गर्नका लागि संसद अधिवेशन अन्त्य गरेको उनले बताइन् ।
साथै मन्त्री शर्माले एउटा अधिवेशनबाट अर्को अधिवेशनमा पुग्नका निम्ति संसद अधिवेशन बन्द गर्नैपर्ने बाध्यता रहेको बताइन् ।