काठमाडौं, ३ बैसाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विना जानकारी आफ्ना सांसदहरूलाई विदेश नजान निर्देशन दिएका छन् । सोमबार संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले सांसदहरू कहीँ कतै जानुपरेमा दलको नेता, उपनेता, प्रमुख सचेतकलाई जानकारी दिएर मात्र जान निर्देशन दिएका हुन् ।
उनले कतिपय सांसदहरू बाहिर जाँदा दलका नेता र प्रमुख सचेतकलाई थाहा नै हुन छाडेको भन्दै त्यस्तो बेला कोही फसेमा पार्टी जिम्मेवार नहुने बताए । उनले भने, ‘प्रदेशमा मात्र होइन यही पनि त्यस्तो देखिएको छ । पछि कुनै प्रकारले फस्नुभयो भने पार्टीलाई नभने पनि हुन्छ । आफैँले गल्ती गरेपछि आफै सावधान रहनु ।’
विगतमा सांसदहरुले रातो पासपोर्ट लगायतका काण्डमा फसेपछि पुनः सांसद हुन नपाउने गरी पार्टीले कारबाही गर्नु परेको दृष्टान्त पेस गर्दै उनले त्यसो हुन नदिनका लागि पनि सांसदहरुले पार्टी संसदीय दलको परामर्शमा मात्रै विदेश जान उपयुक्त हुने बताए । अध्यक्ष ओलीले सहकारी लगायतका ठगीमा पनि सांसदहरु संलग्न रहेको उल्लेख गर्दै त्यसमा नसफस्न सावधानी अपनाउनुपर्ने बताए।
यस्तै उनले त्यसबाट जोगिनका लागि पार्टीसँग परामर्श गर्नुपर्ने भन्दै उनले जान नहुने परिस्थिति र कार्यक्रममा नजान भनेर पार्टीले भन्न सक्ने बताए ।
साथै अध्यक्ष ओलीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई जिताउन सहयोग गर्न समेत आसपासका सांसदहरूलाई निर्देशन दिए ।