काठमाडौं, ४ बैसाख । बुटवलको सुप्रिम सहकारीका बचतकर्ताहरुले सहकारी ठगीमा संलग्न गितेन्द्रबाबु (जीबी) राई सहितका व्यक्तिहरुलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।
बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन ट्राफिकचोकसम्म पुगेको थियो । प्रदर्शनमा सहभागीहरुले ‘सहकारी ठगलाई राजनीतिक संरक्षण बन्द गर’, ‘जीबी राई खोई ? भन्देऊ रवि दाइ’, ‘गृहमन्त्री आफ्नो वचन पूरा गर, जीबी राई पक्राउ गर’, ‘बचत रकम फिर्ता देऊ’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
यस्तै उनीहरूले सुप्रिम सहकारीका अध्यक्ष, पधाधिकारी, व्यवस्थापक, वरिष्ठ कर्मचारीलाई तुरुन्तै कारबाही गर्नुपर्ने माग गरेका छन् । उनीहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई आफ्नो बाचा पूरा गर्न समेत आग्रह गरेका छन् ।
सहकारी पीडित संघर्ष समिति संयोजक विजयकुमार नेपालले प्रतिपक्षमा हुँदा गृहमन्त्री लामिछानेले आरोप लागेका व्यक्तिमाथि संसदीय छानवीन समिति बनाएर अनुसन्धान गर्नुपर्ने बोलेको तर अहिले किन तयार नभएको भन्दै प्रश्न उठाए ।
यस्तै अर्का बचतकर्ता कृष्णप्रसाद खरेलले सर्वसाधारण बचतकर्ताको रकम अपचलनमा गृहमन्त्री लामिछानेको संलग्नता पुष्टि भएपनि प्रहरीले प्रतिवादी नबनाउनुले निष्पक्ष अनुसन्धान हुनेमा शंका उत्पन्न भएको बताए ।
उनले भने, ‘गृहमन्त्रीले प्रतिपक्षमा हुँदा एकथरि र सरकारमा गएपछि अर्कोथरि कुरा गर्न मिल्दैन, अहिले त उहाँले नै हाम्रो बचत अपचलन गरेको प्रहरी अनुसन्धानले पुष्टि ग¥यो । सरकार सहकारी पीडितलाई न्याय दिनुभन्दा पनि गृहमन्त्रीलाई चोख्याउन मात्र तल्लिन भएको देखिन्छ ।’
सुप्रिम सहकारीमा भएको ठगीमा अनुसन्धान गरेको प्रहरीले जीबी राई र रवि लामिछानेसहितले प्रक्रिया पूरा नगरी व्यक्तिगत तथा कम्पनीका नाममा ऋण लिएर बचत हिनामिना गरेको निष्कर्ष निकालेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।