काठमाडौं, ४ बैसाख । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सरकारको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४४ प्रतिशतभन्दा धेरै रहेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को ९ महिनामा सरकारको सार्वजनिक ऋण २३ खर्ब ८५ अर्ब ७९ करोड पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४४ दशमलव ३२ प्रतिशत हो । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालको आर्थिक वर्ष २०७९÷८०को अनुमानित कुल गार्हस्थ्य उत्पादन ५३ खर्ब ८१ अर्ब छ ।
यस्तै चालू आवको चैतसम्ममा सरकारले बाह्य ऋण १२ खर्ब ६ अर्ब ३१ करोड तिर्न बाँकी छ । त्यस्तै आन्तरिक ऋण ११ खर्ब ९७ अर्ब ४८ करोड तिर्न बाँकी छ ।
कार्यालयका अनुसार चेतसम्ममा सरकारले आन्तरिक र बाह्य ऋण गरी कुल २ खर्ब ९ अर्ब १४ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । सो अवधिमा सरकारले आन्तरिक ऋण १ खर्ब ७५ अर्ब ४० करोड भुक्तानी गरेको छ भने बाह्य ऋण ३३ अर्ब ७४ करोड रुपैयाँको भुक्तानी गरेको छ । यस्तै फागुनसम्ममा सरकारले आन्तरिक र बाह्य गरी साँवा ब्याज क्रमशः १ खर्ब ५२ अर्ब ४९ करोड र ४९ ५६ अर्ब ६५ करोड भुक्तानी गरिसकेको छ ।
सरकारले चालू आवको चेतसम्ममा आन्तरिक र बाह्य गरी कुल २ खर्ब ३८ अर्ब ९३ करोड रुपैयाँ ऋण लिएको छ, जसमध्ये आन्तरिक ऋण र बाह्य ऋण क्रमशः १ खर्ब ७६ अर्ब र ६२ अर्ब ९३ करोड रहेको छ ।