काठमाडौं, ४ बैसाख । नेपाल धितोपत्र बोर्डको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्यले पाएका छन् । तत्कालका लागि बोर्ड अध्यक्षको जिम्मेवारी सहसचिव शाक्यले पाएका हुन् । हाल शाक्यले अर्थ मन्त्रालयबाट बोर्ड सञ्चालक समिति सदस्यका रूपमा प्रतिनिधित्व गरिरहेका छन् ।
धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ मा अध्यक्षको नियुक्ति सम्बन्धी व्यवस्था संशोधन गरिएसँगै शाक्यले अध्यक्षको हैसियत पाएका हुन् । संशोधित व्यवस्थामा बोर्ड अध्यक्ष पद रिक्त रहे मन्त्रालयबाट बोर्डमा प्रतिनिधित्व गर्ने सदस्यले नै अध्यक्षको हैसियतमा काम गर्ने उल्लेख छ ।
संशोधित ऐनमा थप गरिएको उपदफा ८ मा छ, ‘अध्यक्षको पद रिक्त भए नेपाल सरकारले निजलाई पदबाट हटाए वा निज निलम्बनमा परी बोर्डको कामकाज गर्न नमिल्ने भए बोर्डमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले अध्यक्षको हैसियतमा काम गर्ने छ ।’
यसअघि सरकारले बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारीलाई निमित्त अध्यक्षको जिम्मा दिएको थियो । रमेशकुमार हमालले कार्यकाल सकेर बाहिरिएपछि बोर्डको अध्यक्ष पद रिक्त छ ।