काठमाडौं, ५ बैसाख । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रवन्धक नियुक्त गर्न शिलबन्दी बोलपत्र आवेदन माग गरेको छ ।
इच्छुक बिक्री प्रबन्धक कम्पनीले सूचना प्रकाशित भएको ४५ दिनभित्र कार्य दिनभित्र शिलबन्दी बोलपत्र पेस गर्न सक्ने कम्पनीले जनाएको छ । छनौट भएको बिक्री प्रबन्धकले कम्पनीको आईपीओ निष्कासन तथा आरटीएस सम्बन्धी सम्पूर्ण कार्य गर्नेछ ।
कम्पनीलाई नियमअनुसार पाइने प्रिमियम मूल्य थप गरि रु.३० करोडबराबरको ३० लाख कित्ता सेयर निष्कासन गर्न चाहिने सेयर प्रत्याभुतिकर्ता जुटाउन सहजीकरण गरिदिने प्रतिबद्धता र सो कार्य गरेबापत आवश्यक सेजा शुल्क निर्धारण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले ३ वटा केवलकार परियोजना निर्माण कार्य अघि बढाएको छ । जसमध्ये रुपन्देहीमा सिद्धार्थ केवलकार प्रोजेक्ट सम्पन्न हुने चरणमा छ । यस्तै रुपन्देही जिल्लाको मणिमुकुन्द सेन फुलबारी पार्कदेखि पाल्पाको नुवाकोट डाँडा जोड्नेगरी सिद्धार्थ केवुलकार निर्माण अन्तिम चरणमा छ ।
अन्य २ परियोजना भने प्रारम्भिक चरणमै छ । रामेछापमा खाँडादेवी केबुलकार र सिन्धुलीमा सिद्धबाबा केबुलकार योजना कम्पनीले अघि सारेको छ । यी दुवै योजनामा प्रारम्भिक कार्य भइरहेको कम्पनीले जनाएको छ ।