काठमाडौं, ६ बैसाख । अमेरिकी सरकारको ऋणको उच्च र बढ्दो स्तरले विश्वभरको ऋण लागत बढाउने र विश्वव्यापी वित्तीय स्थिरतालाई कमजोर बनाउने जोखिम बढेको अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ)ले चेतावनी दिएको छ ।
अमेरिकाको बढ्दो सरकारी खर्च, बढ्दो सार्वजनिक ऋण र ब्याज दरले ट्रेजरीहरूमा उच्च र अस्थिर ब्याजदरको अवस्था सिर्जना भएको छ । यसले ब्याजदर उच्च हुने जोखिम निम्ताएकोे आइएमएफले चेतावनी दिएको छ । अमेरिकाको ऋणको आकार ३५ ट्रिलियन डलरको रेकर्ततोड स्तरमा पुगेको छ ।
आइएमएफले दिर्घकालिन अमेरिकी सरकारी बन्डहरूको प्रतिफलमा भएको वृद्धि अन्य उन्नत र विकासशील अर्थतन्त्रहरूको सरकारी ऋणपत्रको प्रतिफलमा भएको वृद्धि समान रहेको जनाएको छ ।
‘अमेरिकाको खुकुलो आर्थिक नीतिले विश्वव्यापी ब्याजदर र डलरमाथि दबाब दिन्छ ।’ आईएमएफको वित्तीय मामिला विभागका निर्देशक भिटोर गास्परले भने,‘यसले बाँकी विश्वको कोष लागत बढाउँछ, जसले गर्दा विद्यमान कमजोरी र जोखिमहरू पनि बढाउँछ ।’
यो हप्ता दोस्रो पटक आईएमएफले अमेरिकी सरकारमाथि निशाना साधेको हो। गत मङ्गलबार आइएमइफले सार्वजनिक खर्च र उधारोले अमेरिकी अर्थतन्त्रलाई ‘ओभरहिटीङ’ बनाउन योगदान पु¥याइरहेको र यसले फेडरल रिजर्भलाई मुद्रास्फीतिलाई पराजित गर्न गाह्रो बनाएको जनाएको थियो ।
उच्च ब्याज दरहरूले आम मानिस र व्यवसायीहरुको ऋणको ब्याज भुक्तानी अझ महँगो बनाउने र यसले बैंक र अन्य ऋणदाताहरूलाई घाटा निम्त्याउन सक्ने भएकाले वित्तीय अस्थिरता बढ्न सक्ने आइएमएफले जनाएको छ ।
आईएमएफको अमेरिकी सरकारको बढ्दो ऋणको भारीले थप चिन्ता उत्पन्न भएको जनाएको छ । मंगलबार फेड अध्यक्ष जेरोम पावेलले अमेरिकामा निरन्तर मुद्रास्फीतिको कारणले आधिकारिक ब्याज दरहरू अझै केही समयको लागि उच्च रहन सक्ने संकेत गरेपछि ट्रेजरीको ब्याजदर वर्षकै उच्च कायम भएको थियो ।
यदि अमेरिकी मुद्रास्फीति उच्च रह्यो भने, यसले ब्याज दर कटौतीको लागि लगानीकर्ताहरूको आशालाई कमजोर पार्न सक्ने र यसले विश्वभरका स्टक र सरकारी बन्डहरू लगायत वित्तीय सम्पत्तिहरुमा व्यापक बिक्री दबाब पर्ने आईएमएफले चिन्ता व्यक्त गरेको छ । यसले अमेरिकी अर्थतन्त्र पनि प्रभावित बन्ने आइएमएफले जनाएको छ । –एजेन्सी