काठमाडौं, ७ बैसाख । चालू आर्थिक वर्ष (आव) २०८०÷८१ को ९ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि करिब साढे पाँच लाख नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालू आव २०८०÷८१ को तेस्रो त्रैमाससम्ममा वैदेशिक रोजगारीका लागि ५ लाख ४२ हजार १३० जनाले श्रम स्वीकृति लिएका छन्,जुन गत आवको चैतसम्ममको तुलनामा १० प्रतिशतले कम हो । गत आर्थिक सोही अवधिमा वैदेशिक रोजगारका लागि ६ लाख २ हजार १५३ जनाले श्रम स्वीकृति लिएका थिए ।
एक वर्ष अवधिमा वैदेशिक रोजगारीमा जाने पुरुषको सङ्ख्या १० दशमलव १६ प्रतिशतले घटेको छ । गत आवको चैतसम्ममा ५ लाख ४८ हजार ६९४ पुरुषले श्रम स्व्ीकृति लिएका थिए । तर, चालू आवको ९ महिनामा ४ लाख ९२ हजार ९३७ पुरुषले मात्र श्रम स्वीकृति लिएका छन् ।
यस्तै पछिल्लो समय वैदेशिक रोजगारीमा जाने पुरुषको सङ्ख्या घटिरहँदा महिलाको सङख्या भने बढिरहेको छ । विभागका अनुसार एक वर्ष अवधिमा श्रम स्वीकृति लिने महिलाको सङ्ख्या १० दशमलव ६८ प्रतिशतले बढेको छ । गत आवको तेस्रो त्रैमाससम्ममा ५३ हजार ४८९ महिलाले श्रम स्वीकृति लिएका थिए । तर, चालू आवको तेस्रो त्रैमासमा आइपुग्दा विभागबाट ५९ हजार २०६ महिलाले श्रम स्वीकृति लिएर विदेशिएका छन् ।
चालू आवको चैत महिनामा मात्रै वैदेशिक रोजगारीका लागि ७० हजार ९३३ जनाले श्रम स्वीकृती लिएका छन् । जसमध्ये ६४ हजार २४१ पुरुष र ६ हजार ६९२ महिला छन् ।
विभागका अनुसार ९ महिनामा पुनः श्रम स्वीकृती लिएर ३ लाख २९ हजार ३९५ जना वैदेशिक रोजगारमा गएका छन् । यस्तै चैतसम्ममा सस्थागततर्फ बाट श्रम स्वीकृती लिएर २ लाख ५४ हजार ९८९ जना विदेशिएका छन् । व्यक्तिगततर्फबाट ६५ हजार ११ जनाले श्रम स्वीकृति लिएका छन् ।
साथै जी.टु.जी मार्फत ९ हजार ४१७ जनाले वैदेशिक रोजगारका लािग श्रम स्वीकृती लिएका छन् भने व्यक्तिगत तर्फ बाट पुनः श्रम स्वीकृती लिएर २ लाख १२ हजार ७२१ जना वैैदेशिक रोजगारमा गएका छन् ।