काठमाडौं, ९ बैसाख । उद्योग विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमाससम्ममा स्वदेशी तथा विदेशी गरी २ सय ८६ उद्योग दर्ता भएका छन्, जुन सरकारले उद्योग दर्ताको लागि लिएको वार्षिक लक्ष्यको ७८ दशमलव ३५ प्रतिशत हो । यस वर्षका लािग ३६५ उद्योग दर्ता गर्ने सरकारको लक्ष्य छ ।
चालू आवको ९ महिनामा यस वर्षका लागि सरकारले लिएको वार्षिक लक्ष्यभन्दा बढी साना उद्योग दर्ता भइसकेको छ । चैत महिनासम्ममा स्वदेशी तथा विदेशी गरी २ सय २३ वटा उद्योग दर्ता भइसकेको छ । तर, यस वर्षका लागि सरकारले २०० मात्र साना उद्योग दर्ता गर्ने लक्ष्य राखेको थियो ।
तेस्रो त्रैमाससम्ममा स्वेदेशी तथा विदेशी गरी ३६ वटा उद्योग दर्ता भएका छन् । यस आवमा ८० वटा ठुला उद्योग दर्ता गर्ने सरकारको लक्ष्य छ । त्यस्तै यस आवमा ८५ वटा मझौला उद्योग दर्ता गर्ने लक्ष्य लिएको सरकारले चालू आवको चैतसम्ममा २७ वटा उद्योग दर्ता गरेको छ ।
यस्तै विभागका अनुसार चालू आवको चैतसम्ममा दर्ता भएका २८६ उद्योगका लागि १ खर्ब ६५ अर्ब लगानी प्रतिबद्धता आएको छ । यी उद्योगबाट २० हजार १३७ जनाले रोजगारी पाउने छन् ।
चैतसम्ममा ट्रेडमार्क मात्रै ४ हजार २०९ वटा दर्ता भएको छन् । सो अवधिमा २ वटा प्याटेन्ट दर्ता भएको छ भने ७ वटा डिजाइन दर्ता भएका छन् । ९ महिनामा ट्रेडमार्क सम्बन्धि मुद्दामा ५३ वटा ट्रेडमार्कलाई कारबाही गरिएको छ । साथै भारतमा निर्यात छुट (रियायती) को लागि ७२ वटा सर्टिफिकेट प्राप्त भएको छ ।
यस्तै चालु आवको चैतसम्ममा दर्ता भएकामध्ये २ सय ६९ वटा विदेशी उद्योग रहेका छन् । यी उद्योगबाट मात्रै रु. ३० अर्ब ९ करोड ९५ लाख वैदेशिक लगानी प्रतिबद्धता आएको छ । जसमध्ये २५३ वटा साना विदेशी उद्योग रहेका छन् । त्यस्तै ठुला र मझौला क्रमश ः ३ र १३ रहेका छन् ।
चैतसम्ममा दर्ता भएका २६९ विदेशी उद्योगबाट १३ हजार ८३४ जनाले रोजगारी पाउने छन् । सो अवधिमा १ अर्ब ७० करोड १९ लाखभन्दा बढी रोयल्टी बाहिरिएको छ ।