काठमाडौं, १० वैशाख । नेपालले विभिन्न मुलुकमा द्विपक्षीय व्यापार गर्दै आए तापनि धेरै मुलुकसँग व्यापार घाटा बेहोरिरहेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमाससम्ममा नेपालले १ सय ३० मुलुकसँग व्यापार घाटा बेहोरेको छ । हाल नेपालले १६२ मुलुकसँग व्यापार गर्दै आएको छ । जसमध्ये ३२ मुलुकसँगको व्यापार बचतमा छ ।
नेपाललको द्विपक्षीय व्यापारिक मुलुकमध्ये छिमेकी मुलुक भारतसँग सबैभन्दा धेरै व्यापार छ । विभागका अनुसार चैतसम्ममा भारतबाट ७ खर्ब २९ अर्ब ६५ करोडको वस्तु आयात भएको छ भने नेपालबाट भारततर्फ ७७ अर्ब ८५ करोड रुपैयाँको वस्तु निर्यात भएको छ ।
नेपालले चालू आवको ९ महिनामा बेहोरेको कुल व्यापार घाटाको आधाभन्दा बढी भारतसँग मात्रै छ । चैतसम्ममा भारतसँग नेपालको ६ खर्ब ५१ अर्ब ८० करोड रुपैयाँभन्दा धेरैको व्यापार घाटा छ । सो अवधिमा नेपालको कुल व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख १ हजार छ ।
व्यापार साझेदार मुलुकमध्ये नेपालले दोस्रोमा अर्काे छिमेकी मुलुक चीनसँग व्यापार गर्दै आएको छ । चैतसम्ममा चीनबाट २ खर्ब १६ अर्ब ७६ करोडभन्दा धेरैको वस्तु आयात भएको भने नेपालबाट चीनतर्फ २ अर्ब ११ करोड ४४ लाखभन्दा धेरैको वस्तु निर्यात भएको छ । अर्थात् चीनसँग नेपालको व्यापार घाटा २ खर्ब १४ अर्ब ६५ करोडभन्दा धेरै छ ।
छिमेकी मुलुक भारत र चीनपछि नेपालले सबैभन्दा धेरै व्यापार घाटा संयुक्त अरब इमिरेटस (युएई) सँग बेहोरेको छ । विभागका अनुसार चालू आवको तेस्रो त्रैमाससम्ममा युएईसँग नेपालको व्यापारघाटा १८ अर्ब ५२ करोड २७ लाखभन्दा धेरै छ । सो अवधिमा युएईबाट २० अर्ब ४८ करोडभन्दा धेरेको वस्तु आयात गर्दा नेपालबाट युएईतर्फ १ अर्ब ९५ करोड ८९ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
यस्तै चैतसम्ममा नेपालले युक्रेनसँग १४ अर्ब ९० करोडभन्दा धेरैको व्यापार घाटा बेहोरेको छ । सो अवधिमा मलेशियासँग १४ अर्ब १६ करोड र अष्ट्रेलियासँग ९ अर्ब ५ करोड भन्दा धेरैको व्यापार घाटा बेहोरेको छ । साथै फ्रान्ससँग ८ अर्ब ९८ करोड, इन्डोनेशियासँग ८ अर्ब ६४ करोड, अर्जेन्टिनासँग ६२ करोड, थाइल्यान्डसँग ६ अर्ब ३१ करोड, क्यानडासँग ६ अर्ब ११ करोड र साउदी अरेयिबासँग ५ अर्ब ५६ करोड रुपैयाँभन्दा धेरै व्यापार घाटा बेहोरेको छ ।