काठमाडौं, ११ वैशाख । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गरिने बताएका छन् । मंगलबार इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले नीति ल्याएर, कानुन बनाएर वा संशोधन गरेर भए पनि जनताको पैसा फिर्ता हुने वातावरण सरकारले बनाउने बताएका हुन् ।
यस्तै लामिछानेले रास्वपालाई रोक्न नसकिए आफ्नो दिन सकिने ठानेर नै पुराना दलहरूले आफूहरूलाई घेराबन्दी गर्न थालेको बताए ।
अहिलेसम्म जनतालाई झुक्याए पनि अब नसक्ने भन्दै उनले इलामलाई अहिलेसम्म झुक्याउनेलाई उपनिर्वाचनमा इलामले नराम्रोसँग झुक्याउने दाबी गरे । उनले भने, ‘इलाममा अहिलेसम्म कतिले झुक्याए थाहा छैन । तर, यसपटक इलामेली जनताले विवेक प्रयोग गरेर घण्टीमा भोट हालेर सबैलाई झुक्याउने छन् । तर यो झुक्याइले देशभर परिवर्तनको लहर ल्याउने छ । र, त्यो लहरले २०८४ मा रास्वपाको एकलौटी विजय यात्रालाई कसैले रोक्न सक्दैन ।’