काठमाडौं, १७ वैशाख । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि भियतनामका राजदूत न्हुएन थान हाईबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदूत न्हुएन थान हाई काठमाण्डौंमा आयोजित लगानी सम्मेलनका निमित्त नेपाल आएका हुन् । उनी भारत र भुटानका लागि समेत भियतनामी राजदूत हुन् ।
भेटका क्रममा राजदूत न्हुएन थान हाईले उपराष्ट्रपतिसमक्ष नेपाल र भियतनामबीच कूटनीति सम्बन्ध स्थापनाको ५० वर्ष पुग्नै लागेको उल्लेख गर्दै दुई मुलुकबीच लगानी अभिवृद्धिमा सहकार्य गर्नुपर्ने धारणा राखे ।
यस्तै उनले नेपाल बुद्ध जन्मस्थल भएकाले भियतनामबाट ठूलो संख्यामा पर्यटक नेपाल आइरहेको उल्लेख गर्दै आगामी दिनमा पर्यटन लगायतका क्षेत्रमा सहकार्य गर्न आफ्नो मुलुक इच्छुक रहेको बताए ।
भेटमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालले भियतनामसँगको सम्बन्ध अझै विस्तार गर्न चाहेको र यसका लागि सहकार्य प्रगाढ बनाउनुपर्ने धारणा राखे ।