काठमाडौं, २७ वैशाख । नक्सालस्थित बाल मन्दिरको जग्गा अनियमितता प्रकरणमा बाल संगठनका पूर्वपदाधिकारीसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
काठमाडौँ जिल्ला अदालतबाट २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकारीले जानकारी दिए ।
बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंह, पूर्वपदाधिकारी तुलसीनारायण सिंह, गणेशभक्त श्रेष्ठ, सुमन शाक्य, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
यस्तै पक्रउ पुर्जी जारी हुनेमा गोपाल श्रेष्ठ, प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही, दिपकदास श्रेष्ठ, चिरञ्जीवी तिवारी, प्रविणराज जोशी र मुरारी निधी तिवारी छन् ।
बालमन्दिरको तर्फबाट आज (बिहीबार) सीआईबीमा जाहेरी परेको थियो । २०२१ सालमा नक्सालस्थित ‘सीता भवन’ अधिग्रहण गरेर सरकारले नेपाल बाल संगठन अर्थात बालमन्दिरका नाममा ११९ रोपनी १२ आना ३ पैसा जग्गा राखेको थियो ।
केही दिनअघि नक्सालस्थित बाल संगठनको जग्गा अनियमिततामा संलग्न व्यक्तिहरूविरूद्ध जाहेरी परेको थियो । बाल मन्दिरको करिब २९ रोपनी जग्गा वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी लिजमा दिइएको विषयमा विवाद छ ।
यो जग्गा प्रकरणबारे सीआईबीले यसअघि पनि सूक्ष्म रूपमा अनुसन्धान अघि बढाएको थियो । सीआईबीको अनुसन्धानमा समेत जग्गा दुरुपयोग गरिएको खुले पनि औपचारिक रूपमा जाहेरी नपरेकाले मुद्दा प्रक्रिया अघि बढेको थिएन ।