काठमाडौं, ८ जेठ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा जेठ ११ गते शुक्रबार छलफल हुने भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८१÷८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न र प्रधानमन्त्रीबाट जवाफ दिनका लागि जेठ ११ गतेको दिन तोकेको जानकारी गराए ।
सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रममा सहभागी हुने सांसदलाई एक घण्टा अगावै नाम टिपाउन पनि आग्रह गरेका छन् । नीति तथा कार्यक्रममाथि संशोधनको सूचना दिनका लागि जेठ ९ गतेसम्मको समय तय गरिएको छ ।
१ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए । त्यसपछि जेठ ३, ४, ६, ७ र ८ गते नीति तथा कार्यक्रममाथि छलफल गर्ने तालिका तय भएको थियो । जेठ ९ गते नीति तथा कार्यक्रम पारित गर्ने तयारी थियो ।
तर, विपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधि सभाको यसअघि तय भएको तालिका प्रभावित भएको छ । कांग्रेसले लगातार संसद बैठक अवरोध गर्दै आएको छ । अवरोधले राष्ट्रिय सभाको बैठक समेत प्रभावित भएको छ । राष्ट्रिय सभामा पनि जेठ ११ गते नै नीति तथा कार्यक्रममाथि छलफल हुने तय भएको छ ।