काठमाडौं, ९ जेठ । चालू आर्थिक वर्ष २०८०÷८१ को १० महिनामा सरकारको सार्वजनिक ऋण करिब २४ खर्ब पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आवको वैशाखसम्ममा सरकारको आन्तरिक र बाह्य ऋण गरी कुल २३ खर्ब ९७ अर्ब ४३ करोड पुगेको छ, जुन गत आवको साही आधिको तुलनाम १२ दशमलव ३२ प्रतिशतले वृद्धि हो । गत आवको वैशाखसम्ममा सरकारको सार्वजनिक ऋण २१ खर्ब ३४ अर्ब ३२ करोड मात्र थियो ।
चालू आवको उक्त ऋण कुल गार्हस्थ्य उत्पादनको ४२ दशमलव ०२ प्रतिशत हो । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८०÷८१ मा कुल गार्हस्थ्य उत्पादन ५७ खर्ब पुग्ने अनुमान गरेको छ ।
विभागका अनुसार वैशाखसम्ममा सरकारले सबैभन्दा धेरै बाह्य ऋण तिर्न बाँकी छ । सो अवधिसम्ममा सरकारले बाह्य ऋण १२ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ तिर्न बाँकी छ भने आन्तरिक ऋण ११ खर्ब ८४ अर्ब ४८ करोड बाँकी छ ।
चालू आवको १० महिनासम्ममा सरकारले आन्तरिक र बाह्य ऋण गरीे २ खर्ब ३३ अर्ब २७ करोड ऋण भुक्तानी गरिसकेको छ । जसअनुसार आन्तरिकतर्फ १ खर्ब ९४ अर्ब ६८ करोड र बाह्यतर्फ ३८ अर्ब ५९ करोड रुपैयाँ भुक्तानी गरेको छ । सो अवधिमा आन्तरिक र बाह्य गरी सावाँ र ब्याज क्रमशः १ खर्ब ६६ अर्ब ५५ करोड र ६६ अर्ब ७२ करोड रुपैयाँ भुक्तानी गरेको छ ।
सरकारले चालू आवको वैशाखसम्ममा आन्तरिक र बाह्य गरी कुल २ खर्ब ६४ अर्ब ६३ करोड ऋण प्राप्त गरिसकेको छ,जसमध्ये आन्तरिक ऋण १ खर्ब ९१ अर्ब र बाह्य ऋण ७३ अर्ब ६३ करोड रुपैयाँ छ ।