काठमाडौं, ६ असार । चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा मुलुकभर रहेका बैंक तथा वित्तीय संस्थाका शाखमध्ये २६ प्रतिशतभन्दा बढी बागमती प्रदेशमा छन् । सो अवधिमा मुलुकभर बैंक तथा वित्तीय संस्थाका ११ हजार ५ सय ९४ शाखाहरु रहेका छन् । तीमध्ये बागमती प्रदेशमा ३ हजार ४५ वटा अर्थात् कुल शाखाको २६.२६ प्रतिशत शाखाहरु रहेको बागमती प्रदेशको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणले देखाएको छ ।
मुलुकभर नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त जम्मा बैंक तथा वित्तीय संस्थाको संख्या ११० रहेकोमा २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५५ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन्। प्रदेशको जनसंख्याको आधारमा विश्लेषण गर्दा बागमतीमा समीक्षा अवधिमा प्रतिशाखा औसत २ हजार ९ मानिसमा वित्तीय सेवाको पहुँच पुगेको छ।
बागमती प्रदेशमा आव २०७५–७६ मा बैंक तथा वित्तीय संस्थाको शाखा २ हजार २ सय ५ रहेकोमा २०८० फागुन मसान्तसम्म शाखाहरु विस्तार भई ३ हजार ४५ पुगेका छन् जसमध्ये वाणिज्य बैंकतर्फ १ हजार ८ सय ३३, विकास बैंकतर्फ ३३५, वित्त कम्पनीतर्फ १०८ र लघुवित्त संस्थातर्फ ७६९ शाखाहरु रहेका छन्।