काठमाडौं, २० भदौ । हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन आज (बिहीबार) दर खाएर मनाइँदै छ । दरखाने दिनसँगै तीज पर्व आजदेखि सुरु हुँदैछ । दरखाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न परिकार खाँदै रमाइलो गर्ने चलन छ ।
भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ । दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ ।
दरखाने दिन परिवार, नातेदार र आफन्तहरू बीचको एकता र मेलमिलापको प्रतीक हो । यस दिन परिवारका सबै सदस्यहरू, आफन्तहरू र साथीहरूलाई आमन्त्रित गरिन्छ । सबैजना एक ठाउँमा भेला भएर भोजन गर्छन्, जसले पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउँछ ।
आज दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।