काठमाडौं, २० भदौ । नेपालका प्रमुख व्यापारिक मुलुक भारत र चीन हुन् । दशकौंदेखि यी दुई मुलुक नेपालका प्रमुख दुई व्यापार साझेदारका रूपमा रहँदै आएका छन् । तर, नेपालको वेदेशिक व्यापार साझेदार तेस्रो ठूलो मुलुकबारे पनि खासै धेरै चर्चा हुँदैन । भारत र चीनपछिको ठूलो व्यापार साझेदार मुलुक प्रायः परिवर्तन भइरहनदे भएकाले पनि धेरै चर्चा नभएको पनि हुन सक्छ । यद्यपि कुनै पनि मुलुकका लागि प्रमुख व्यापार साझेदार मुलुकहरू र तिनसँग हुने व्यापारले ठूलो अर्थ राख्छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को साउनमा १०३ मुलुकसँग नेपालको व्यापार भएको छ ।
नेपालको वैदेशिक व्यापारमा छिमेकी मुलुक भारत र चीनको अग्रता रहे पनि तेस्रो साझेदारको रूपमा अमेरिका अघि बढ्न थालेको छ । विभागको तथ्याङ्क अनुसार चालू आवको साउनमा आयात र निर्यात दुवै व्यापारको शीर्ष स्थानमा भारत छ । सो अवधिमा समग्र व्यापारको दोस्रो स्थानमा रहेको चीन आयातमा पनि दोस्रो स्थानमै छ । तर, निर्यातमा भने आठौं स्थानमा छ ।
विभागका अनुसार साउनमा नेपालको निर्यात व्यापार भएका मुलुकमध्ये अमेरिका दोस्रो स्थानमा छ भने आयातमा छैटौं स्थानमा छ । यसरी नेपालको कुल वैदेशिक व्यापार (आयात र निर्यात)मा अमेरिका तेस्रो स्थानमा रहेको छ ।
विभागको तथ्याङ्क अनुसार साउनमा अमेरिकासँग नेपालले ३ अर्ब ६८ करोड १६ लाख ८७ हजार रुपैयाँको व्यापार गरेको छ, जसमध्ये १ अर्ब ८९ करोड ३२ लाख मूल्य बराबरको वस्तु आयात गरेको छ भने १ अर्ब ७८ करोड ८४ लाखको निर्यात गरेको छ, अर्थात् अमेरिकासँग नेपालको व्यापार घाटा १० करोड ४८ लाख ३८ हजार रुपैयाँ छ ।
गत आवको साउनको तुलनामा अमेरिकासँगको व्यापार २८ दशमलव ६० प्रतिशतले बढेको छ । गत आवको साउनमा नेपालले अमेरिकाबाट १ अर्ब ९ करोड ३७ लाख मूल्य बराबरको वस्तु आयात गर्दा १ अर्ब ७७ करोड ६६ लाखको निर्यात गरेको थियो ।
आव २०७९/८० मा नेपालको तेस्रो व्यापार साझेदारमा इन्डोनेसिया थियो । गत आर्थिक वर्षको साउनमा इन्डोनेसियालाई पछि पार्दै अमेरिका व्यापार साझेदारमा तेस्रो मुलुकको रुपमा आयो । तर, भदौदेखि मंसिरसम्ममा अमेरिकालाई पनि पछि पार्दै संयुक्त अरब इमिरेट्स (युएई) अगाडि आयो । यद्यपि पुसदेखि अमेरिका पुनः नेपालको व्यापार साझेदारको तेस्रो मुलुकमा रहँदै आएको छ ।
विभागका अनुसार अमेरिकाबाट सोयाबिन तेल, केक, बिटुमिन्स, कोइला, कम्प्युटर सफ्टवेयर प्रिन्टेड म्यानुअल, हवाईजहाज, हेलिकप्टर वा मानवरहित अन्य उपकरणहरु, सोडा, वाइन, सीडर, जुस बनाउने मेसिन, क्यामेरा, पशु चिकित्साको लागि खोप, स्मार्टफोन, कम्प्युटर सर्भर वा नेटवर्क सर्भर, रेडियो, रिमोट, स्टार्टर मोटर्स र स्टार्टर जेनरेटर, सौन्दर्य सामग्री, अप्टिकल फाइबर, ऊन बुटानोइक एसिड, पेन्टानोइक एसिड, ल्यापटप र नोटबुक, अक्सिजन कन्सेन्ट्रेटर लगायतका अन्य वस्तुहरु आयात भएको छ ।
यस्तै नेपालबाट अमेरिकातर्फ कपासबाट बनेका कपडा, काँच–सिरेमिक वस्तुहरू, टेबल, कुकुर वा बिरालोको खाना, गहनाका सामान, गलैंचा ऊन वा जनावरको कपाल, हातले बनाएको कागज र पेपरबोर्ड, बोरा र झोलाहरू, दालमोथ, नमकीन, भुजिया, मकै, चिया, काठको ह्याङ्गर, स्याम्पु, सल, जर्सी, कुरकुरे, कुर्मुरे, लेज, चीजबल लगायतका अन्य वस्तुहरु निर्यात भएको छ ।