काठमाडौं, २० भदौ । काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापन हुँदै सेनेटरी ल्यान्डफिल साइटको निगरानी काठमाडौं प्लाजाबाट सुरु भएको छ । फोहोर व्यवस्थापन हुने गरेको ल्यान्डफिल साइट नुवाकोट र धादिङ जिल्लाको सीमाना बञ्चरेडाँडामा छ ।
संस्थागत सुधारको कार्यक्रममध्ये कार्य सञ्चालन हुने ठाउँका विषयमा जानकारी तथा सूचना लिन सीसीटीभी क्यामरा जडान गरिएको हो । साइटमा प्रवेश गर्ने सवारी साधन तथा व्यक्ति प्रवेशसहितका क्रियाकलापमा निगरानी गरेर सम्भावित अनधिकृत क्रियाकलाप रोक्न प्रणाली जडान गरिएको महानगरले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने,‘स्वचालित प्रणाली बढाएर संस्थागत सुदृढीकरण गर्ने क्रममा ल्याण्डफिल साइटमा अत्याधुनिक सिसिटिभी क्यामरा जडान गरिएको हो ।’
क्यामराबाट प्राप्त दृश्य महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको कार्य कक्षबाट निगरानी हुनेछ । यससँगै वातावरण व्यवस्थापन विभागमा पनि दृश्य हेर्न सकिने बनाइएको छ । साइट व्यवस्थापनको काममा खटिएका जनशक्ति, कार्यालय, साइटमा पुग्ने सडक, सुरक्षा वुथ देखिने गरी क्यामरा राखिएका छन् ।