काठमाडौं, २० भदौ । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो महिनामा रोजगारीका लागि करिब ६० हजार नेपाली विदेशिएका छन् ।
वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालू आवको साउनमा वैदेशिक रोजगारीका लागि ५९ हजार ५७५ जनाले श्रम स्वीकृति लिएका छन्, जुन गत आवको साउनको तुलनामा ७ दशमलव १९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ५५ हजार ५७५ जनाले श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश गएका थिए ।
तर, गत आवको पछिल्लो २ महिनायता भने रोजगारीका लागि विदेश जानेको सङ्ख्या घट्दै गएको विभागको तथ्याङ्कले देखाउँछ । गत आवको जेठमा सबैभन्दा बढी ७२ हजार ८६१ जनाले श्रम स्वीकृति लिएका थिए । असारमा यो सङ्ख्या १४ हजारले घटेर ५८ हजार ७३६ जनाले विभागबाट श्रम स्वीकृति लिएर विदेशिएका थिए । गत आवको मंसिर, पुस, माघ र फागुनमा ६० देखि ७० हजारको हाराहारीमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए ।
२३ प्रतिशतले बढ्यो रोजगारीका लागि विदेशिने महिलाको सङ्ख्या
साउनमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकामध्ये ८ हजार १४५ महिला रहेको विभागको तथ्याङ्कले देखाउँछ । यो सङख्या गत आवको साउनको तुलनामा २३ दशमलव २० प्रतिशतले बढेको हो । सो अवधिमा ७ हजार ७२५ महिलाले रोजगारीका लागि विदेश जान श्रम स्वीकृति लिएका थिए ।
यद्यपि, एक वर्ष अवधिमा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने महिलाको हिस्सा भने घटेको छ । चालू आवको साउनमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकामध्ये १३ दशमलव ६७ प्रतिशत महिला छन् । गत आवको सो अवधिमा १३ दशमलव ९० प्रतिशत महिलाले श्रम स्वीकृति लिएका थिए ।
चालू आवको साउनमा ५१ हजार ४३० पुरुषले श्रम स्वीकृति लिएका छन्, जुन गत आवको तुलनामा ७ दशमलव ४८ प्रतिशतले बढी हो । गत आवको सो अवधिमा ४७ हजार ८५० पुरुषले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए ।
चालू आवको साउनमा श्रम स्वीकृति लिने पुरुषको हिस्सा बढेको छ । साउनमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकामध्ये ८६ दशमलव ३३ प्रतिशत पुरुष रहेका छन् । गत आवको सो अवधिमा यस्तो हिस्सा ८६ दशमलव ०९ प्रतिशत थियो ।
करिब ३७ हजारले लिए नयाँ श्रम स्वीकृति
विभागका अनुसार चालू आवको पहिलो महिनामा नयाँ श्रम स्वीकृति लिएर ३६ हजार ९२८ जना वैदेशिक रोजगारीमा गएका छन्, जसमध्ये महिला र पुरुष क्रमशः ५ हजार ६७२ जना छन् ।
यस्तै संस्थागततर्फ बाट २२ हजार २८५ पुरुष र ३ हजार २२२ जना महिलाले श्रम स्वीकृति लिएका छन् । साउनमा व्यक्तिगततर्फ बाट ८ हजार ३८१ पुरुष र २ हजार ३ सय ७२ महिलाले श्रम स्वीकृति लिएका छन् भने व्यक्तिगततर्फ बाट पुनः श्रम स्वीकृति लिएर २२ हजार ६४७ जना वैैदेशिक रोजगारीमा गएका छन् । साथै जी.टु.जीमार्फत ६ सय ६८ जनाले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएका छन् ।
यसैगरी चालू आवको साउनमा रोजगारीका लागि सबैभन्दा बढी कतारको लागि श्रम स्वीकृति लिएका छन् । सो अवधिमा कतारका लागि ११ हजार ७५९ पुरुष र ५० जना महिलाले श्रम स्वीकृति लिएको विभागले जनाएको ।
कतार पछि साउदी अरेबियाको लािग ११ हजार ८०९ जनाले श्रम स्वीकृति लिएका छन्, जसमध्ये ११ हजार ७५९ पुरुष र ५० जना महिला छन् । साथै ४ हजार ६९५ जनाले श्रम स्वीकृति लिएर रोजगारीका लािग कतार गएका छन् ।