काठमाडौं,२० भदौ । सरकारले कम्पनी दर्ता गर्न केही सहजता प्रदान गरेसँगै पछिल्लो समय दर्ता गर्नेको सङ्ख्या बढेको छ । कम्पनी रजिष्ट्रार कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा २५ हजार ६ सय ९९ कम्पनी दर्ता भएका छन्, जुन आर्थिक वर्ष २०७९/८० को तुलनामा २० दशमलव ०१ प्रतिशतले बढी हो । अघिल्लो आवमा २१ हजार चार सय १३ कम्पनी दर्ता भएका थिए ।
सरकारले गत आर्थिक वर्षको बजेटमार्फत न्युनतम एक सय रुपैयाँमै कम्पनी दर्ता हुने व्यवस्था गरेको थियो । साथैै नयाँ कम्पनी दर्ता गर्दा, कम्पनीको पूँजी वृद्धि गर्दा कुनै शुल्क वा दस्तुर नलाग्ने तथा दर्ता र खारेजी प्रक्रियालाई अनलाइनबाटै व्यवस्था गर्ने बजेटमार्फत तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले घोषणा गरेका थिए । सो व्यवस्था अनुसार सरकारले गत असोजमा राजपत्रमा प्रकाशित गर्दै यसअघि कम्पनी दर्ता र पूँजी वृद्धि गर्दा लाग्दै आएको दस्तुर मिनाहा गरेको थियो । उक्त व्यवस्थासँगै अब कम्पनी दर्ता गर्दा र पूँजी वृद्धि गर्दा कुनै शुल्क लाग्दैन । जसकारण उद्यम गर्न चाहनेहरु आकर्षित बन्दै गएका छन् ।
गत आवमा दर्ता भएका कम्पनीहरुमध्ये प्राइभेट लिमिटेड (प्रालि) बढी छन् । सो वर्ष २४ हजार तीन सय १४ प्रालितर्फका कम्पनी दर्ता भएका छन्, जुन अघिल्लो आवको तुलनामा १८ दशमलव ७४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष २० हजार चार सय ७६ वटा यस्ता कम्पनी दर्ता भएका थिए ।
कार्यालयका अनुसार गत आवमा पब्लिक लिमिटेड कम्पनी जम्मा ६३ वटा मात्रै दर्ता भएका छन् । यो आव ०७९/८० को तुलनामा २५ प्रतिशतले कम हो । सो वर्ष ८४ वटा यस्ता कम्पनी खुलेका थिए ।
पछिल्लो समय मुनाफा वितरण नगर्ने तथा देशमा विदेशी लगानी भित्र्याउने वा शाखा खोल्ने उद्देश्यले सञ्चालन गरिने कम्पनीमा लगानीकर्ताको आकर्षण धेरै देखिएको छ । कार्यालयका अनुसार गत आवमा ८१४ मुनाफा वितरण नगर्ने कम्पनी दर्ता भएका छन् । अघिल्लो आवमा यस्ता कम्पनी ६८१ वटा मात्रै दर्ता भएका थिए । अर्थात् यो १९.५३ प्रतिशतले बढी हो ।
देशमा विदेशी लगानी भित्र्याउने तथा शाखा खोल्ने उद्देश्य राखी सञ्चालन गरिएका कम्पनी दुई गुणाले बढेको छ । आर्थिक वर्ष २०७९/८० मा १७२ वटा मात्रै खुलेका यस्ता कम्पनी गत आवमा ५१७ वटा दर्ता भएका छन् ।
कार्यालयका अनुसार शुरु देखि गत आवसम्ममा ३ लाख ४२ हजार ३४ कम्पनी दर्ता भएका छन्, जसमध्ये प्रालितर्फ ३ लाख ३० हजार २३३ र पब्लिक लिमिटेडतर्फ २ हजार २०२ कम्पनी रहेका छन् । त्यस्तै मुनाफा वितरण नगर्ने कम्पनी ५ हजार ६७८ वटा दर्ता भएका छन् भने देशमा विदेशी लगानी भित्र्याउने वा शाखा खोल्ने उद्देश्यले ३ हजार ९२१ कम्पनी खुलेका छन् । साथै चालू आवको साउनमा ७९३ कम्पनी थपिएका छन् ।
लगानीकर्ताको आकर्षण उद्योग क्षेत्रमा
उद्योग, कृषि, शिक्षा र स्वास्थ्य जस्ता प्रमुख क्षेत्रमध्ये सबैभन्दा बढी उद्योग क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ । कार्यालयका अनुसार गत आवमा ५ जार ९५ वटा उद्योग दर्ता भई सञ्चालनमा आएका छन् । अघिल्लो वर्ष ३ हजार ९६६ उद्योग दर्ता भएका थिए । अर्थात् एक वर्ष अवधिमा अद्योग दर्ताको सङ्ख्या २८ दशमलव ५४ प्रतिशतले वृद्धि भएको हो ।
उद्योग क्षेत्रपछि सबैभन्दा धेरै शैक्षिक संस्थाहरु बढी खुलेका छन् । गत आवमा २ हजार १७१ वटा शिक्षा क्षेत्रका संघसंस्थाहरु दर्ता भएका छन् । सो अवधिमा २ हजार १०८ वटा कृषि क्षेत्रका र १ हजार ३४९ वटा स्वास्थ्य क्षेत्रका कम्पनी दर्ता भएका छन् ।
यस्तै प्रमुख क्षेत्र बाहेक सबैभन्दा सबैभन्दा बढी शेयर खरिद बिक्री गर्ने कम्पनी दर्ता भएका छन् । सो अवधिमा ११ हजार ४५८ यस्ता कम्पनी खुलेका छन् ।