काठमाडौं, २३ भदौ । लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डिबी) कारागार चलान भएका छन् ।
३३ वर्ष पुरानो मुद्दामा दोषी ठहरिएका सांसद केसीले आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसर्मण गरेका हुन् । उनलाई आइतबार नै कारागार चलान गरिएको रुकुम पूर्वका डीएसपी माधव खरेलले जाकारी दिए । यसअघि उनी फरार सूचीमा थिए ।
२०४८ साल असार ९ गते रुकुम जिल्ला अदालतले धनबहादुरलाई कीर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले कीर्ते गरेको अभियोगमा साविक रुकुम जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको थियो । तर, केसीले हालसम्म सजाय भुक्तान गरेका थिएनन् ।
केसीलाई उनकै श्रीमती राधा केसीले सम्बन्ध विच्छेदको नक्कली कागज बनाएको भन्दै मुद्दा दायर गरेकी थिईन् । सो मुद्दामा उनी दोषी ठहर भएका थिए ।
कानूनतः केसी सांसदको उम्मेदवार समेत बन्नसमेत योग्य नभएको भन्दै उनको आलोचना हुँदै आएको थियो । गत २०७९ को प्रदेश सभा निर्वाचनमा केसी नेपाली कांग्रेसको तर्फबाट रूकुम पूर्वको प्रदेश (ख) बाट सांसद निर्वाचित भएका थिए ।
केसी कारागार चलान भएसँगै उनको पद के हुन्छ भन्ने विषय पनि छ । प्रदेश सभा सदस्यका लागि योग्यताबारे संविधानको धारा १७८ को ’घ’ मा भनिएको छ, ‘नैतिक पतने देखिने फौजदारी कसुरमा सजाय नपाएको ।’