काठमाडौं, २४ भदौ । नेपालले १० दिनभित्र २५ हजार मेट्रिक टन डीएपी मल नेपाल ल्याउने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार २५ हजार मेट्रिक टन डीएपी रासायनिक मल चीनबाट कोलकाता आइपुगेकाले ८ देखि १० दिनभित्र नेपालमा आइपुग्ने जनाएको छ ।
यस्तै, २५ सय मेट्रिक टन युरिया रासायनिक मल विशाखापटनमबाट नेपाल ल्याइने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।
कति छ मौजदात ?
हाल मन्त्रालयसँग गत आर्थिक वर्ष २०८०÷०८१ को सहित गरी १ लाख ३९ हजार रासायनिक मल मौज्दात छ । यसमध्ये युरिया ९१ हजार ५ सय मेट्रिक टन, डीएपी ४१ हजार र पोटास ७ हजार ५ सय मेट्रिक टन मौज्दात रहेको छ ।
१ लाख १७ हजार टन मल आयात
सरकारले चालु आर्थिक वर्ष (आव) २०८१÷८२ को साउन देदि भदौ २१ गतेसम्ममा १ लाख १७ हजार ५८८ टन रासायनिक मल आयात गरिसकेको छ । कृषि सामग्री र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडबाट सो परिमाणमा युरिया र डीएपी मल आयात गरिएको हो ।
कृषि सामग्री लिमिटेडले ८३ हजार ७९६ टन युरिया, १४ हजार ८५४ टन डीएपी आयात गरेको छ । साल्ट ट्रेडिङ कम्पनीले भने १८ हजार ९३७ टन युरिया आयात गरेको छ । सो अवधिसम्म पोटास मल भने आयात भएको छैन ।
१ लाख भन्दा बढी टन मल बिक्री
चालू आवको साउन देखि भदौ २१ सम्ममा साल्ट ट्रेडिङ कम्पनीले २६ हजार १२ टन र कृषि सामग्रीले ७५ हजार ६९४ टन मल बिक्री गरेको मन्त्रालयले जनाएको छ । दुवै कम्पनी गरी साउनमा युरिया ७९ हजार ८६ टन, डीएपी २१ हजार २८६ टन र पोटास १ हजार ३५३ टन बिक्री गरेको छ ।