अस्मिता सापकोटा
काठमाडौं, २५ भदौ । कुनै पनि व्यापार तथा व्यवसाय शुरू गर्न सजिलो हुँदैन । यसो भन्दैमा व्यवसाय गर्नै नसकिने पनि होइन । व्यापार व्यवसायको महत्व सधैं हुन्छ । त्यसमा पनि अहिले बढ्दो विश्वव्यापीकरण, खुला बजार अर्थतन्त्र र सूचनाप्रविधिको अधिकतम विकासले यसको महत्व तथा आवश्यकता दुवै बढाएको छ । यिनै सम्भावना र अवसरले व्यवसायीकण बढेको मात्र छैन, यसमा लागेकाहरूले मनग्गे लाभ पनि लिएका छन् ।
तर व्यावसायिक रूपमा सफल हुन सबैलाई सजिलो भने छैन । यसका लागि सटिक योजनाका साथै उत्पादित वस्तु वितरण गर्ने अभ्यास, ज्ञान तथा शीपको आवश्यकता हुन्छ । व्यवसाय शुरू गर्न र त्यसमा अघि बढ्न धेरैले कार्ययोजना निर्माणलाई प्रमुख आधार मान्छन् । तर कार्ययोजना निर्माण सफल व्यवसायी बन्न एक सानो कदम मात्र हो । व्यवसायलाई गति दिन उत्कृष्ट टोलीको साथ, समर्थन साथै भरपर्दो लगानीकर्ताको सहयोग पनि चाहिन्छ । यस्तोमा व्यवसायीले आफ्नो सोच तथा योजनामा स्पष्ट भएर यसमा गरेको लगानीबाट फाइदा लिन सकिन्छ भन्नेमा यकिन गराएर लगानीकर्ता भित्र्याउन सक्छन् ।
पछिल्लो समय विश्वका अल्पविकसित तथा अविकसित देशहरूले स्टार्टअपलाई प्राथमिकतामा राखेका छन् । यसमा सफलताको रेसियो हेर्दा १० ओटामा १ मात्र सफल भएको देखिन्छ । यसको कारण थुप्रै हुन सक्छन् । तर मुख्य कारण भने लगानीको अभाव नै देखिन्छ ।
व्यवसाय अघि बढाउन विशेषगरी स्टार्टअप तथा साना व्यवसयीलाई पूँजी जुटाउन या थप्न कठिन हुने गर्छ । नेपालका स्टार्टअपहरूलाई यो समस्या अझ बढी छ । नेपाल सरकारले पनि स्टार्टअप प्रवद्र्धन गर्न केही वर्षयता योजना ल्याएको छ । यसका लागि बजेटमै पनि व्यवस्था गरिएको छ । गत आर्थिक वर्ष २०८०/ ८१ मा सरकारले स्टार्टअपका लागि २ करोड ५० लाख बजेट छुट्याएको थियो । सरकारले आगामी आर्थिक वर्ष २०८१/ ८२ को बजेटमार्फत स्टार्टअप र नवउद्यमीलाई सघाउन ‘नेपाल स्टार्टअप कोष’ खडा गर्ने घोषणा गरेको छ । यसका लागि १ अर्ब रुपैयाँ बजेट छुट्याएको बजेटमा उल्लेख छ । यस्तै विभिन्न कोषको रकम प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्डको धितोपत्र इकाइमा लगानी गर्ने व्यवस्था मिलाइने बजेटमा उल्लेख छ ।
कुनै पनि नयाँ व्यवसाय शुरु गर्नुअघि लगानीकर्ताको र व्यवसाय शुरु भइसकेपछि उपभोक्ताको विश्वास जित्नु एकदमै कठिन कार्य हो । सबै व्यवसाय सफल हुँदैनन्, अहिलेको समयमा स्टार्टअप त झनै थोरैमात्र सफल भएका देखिन्छन् । त्यसैले नयाँ व्यवसायीहरू माझ शुरूमा लगानीकर्तालाई कसरी आकर्षित गर्ने, व्यवसाय कसरी अगाडि बढाउने भन्नेमा अन्योल हुन सक्छ । यहाँ स्टार्टअप सफल बनाउन अपनाउनु पर्ने केही उपायको व्याख्या गरिएको छ ।
१. आकर्षक योजना तयार गर्ने
व्यवसाय शुरु गर्दा सबै भन्दा पहिला लगानीकर्ताको ध्यान आकर्षित गर्नु अत्यावश्यक हुन्छ । यसको लागि आकर्षक योजना चाहिन्छ, ताकि लगानीकर्तालाई आफ्नो लगानी खेर जान्दैन भन्ने यकिन गर्न सहज होस् । योजना जति स्पष्ट भयो, त्यति लगानीकर्ताहरूको विश्वास जित्न सकिन्छ ।
२. उपभोक्ता चिन्ने
व्यवसायीले आफ्ना लक्षित उपभोक्ता को हुन् भन्ने थाहा पाउनु आवश्यक हुन्छ । उपभोक्तालाई केन्द्रित गरेर उनीहरुको माग तथा चाहना अनुरूप उपभोग्य वस्तु वा सेवा दिन सकियो भने मात्र व्यवसाय सफल हुन्छ ।
३. समस्या समाधान गर्ने
व्यवसाय शुरु गर्न जति गाह्रो हुन्छ, गतिशील राख्न त्यो भन्दा धेरै गुणा कठिन हुन्छ । आएका समस्यालाई बेलैमा पहिचान गरेर समाधान खोज्नु व्यवसायको गति कायम राख्ने सर्वोत्तम उपाय हो ।
४. थिति बसाल्ने
कुनै पनि व्यापार व्यवसायमा सफल हुन व्यवस्थित प्रणालीको आवश्यकता हुन्छ । व्यवस्थित स्मार्ट (एसएमएआरटी) मोडल अपनाएर व्यवसायलाई उचाइमा पु¥याउन सकिन्छ । यस मोडल अन्तर्गत आय–व्ययको अभिलेख, नाफा–नोक्सान, भावी योजना, बजार विश्लेषण, कर्मचारी संख्या लगायत सम्पूर्ण प्रशासनिक कार्य व्यवस्थित गरिन्छ ।
एस– स्पेसिफिक : लगानीकर्तामा उत्पादन तथा सेवा सम्बन्धी स्पष्ट जानकारी प्रवाह गर्नुपर्छ । व्यवसायीको स्पष्ट नीति भएमात्र लगानीकर्ता उक्त व्यवसाय प्रति आकर्षित हुन्छन् । उत्पादन तथा सेवा सुविधाको बारेमा ठेट जानकारी प्रदान गर्दा उनीहरुलाई उत्पादनको बजार सम्भावनाबारे जानकारी लिन सजिलो हुन्छ । साथै यसबाट प्रभावित लगानीकर्ताले लगानी गर्दा मात्र लगानीबाट उचित लाभ लिन सकिन्छ ।
एम– मेजरेबल : प्रशासनिक, उत्पादन तथा विक्रीवितरण लगायत सबै क्षेत्र मात्रात्मक हुनुपर्छ । यसमा हुने सम्पूर्ण कार्य संख्या वा पैसामा मापन गर्नुपर्छ । यसो गर्दा व्यवसायको गति कस्तो छ, सुधारको आवश्यकता छ÷छैन थाहा पाउन सकिन्छ ।
ए– अचिभएबल : सम्भावनालाई आधार मानेर योजना बनाउनु पर्छ । नतिजाको नजिक पु¥याउने खालको योजना भएमात्र लगानीकर्ताहरु लगानी गर्न उत्सुक हुन्छन् ।
आर– रिलेभेन्ट : योजना बनाउँदा उपभोक्तालाई ध्यानमा राख्नुपर्छ । उपभोक्तासम्म के कस्तो संदेश पु¥याउने र उनीहरुको आवश्यकता के हो भन्ने अध्ययन गरेर मात्र योजना तय गर्नुपर्छ ।
टी– टाइमबाउन्ड : योजना बनाउँदा निश्चित समय सीमाभित्र सम्पन्न हुने खालको बनाउनु पर्छ । यति समयमा यो काम गर्ने, यसरी गर्ने तथा यसबाट यति लाभ लिने भन्ने हिसाबले योजना बनाउनुपर्छ ।
५. योजना कार्यान्वयन गर्ने
बनाइएका योजना लगानीकर्तासँगको सहकार्यमा कार्यान्वयन गर्ने । यसैगरी लगानीकर्ताको व्यवसायप्रतिको विचार बुझ्ने । साथै उनीहरूसँग व्यवसाय अगाडि बढाउन अपनाउनुपर्ने कार्यशैलीबारे छलफल गर्ने र आफूलाई आवश्यक सुझाव दिन आह्वान गर्ने । उचित योजना, व्यवस्थित कार्य प्रणाली तथा असल लगानीकर्ताको साथ एक सफल व्यवसायीका आधारभूत आवश्यकता हुन् ।
(एजेन्सीको सहयोगमा)