अस्मिता सापकोटा
काठमाडौं, २६ भदौ । नेपालमा कोरोनापछिको आर्थिक मन्दीका कारण धेरै व्यवसाय ठप्प भएका छन् । नेपालमा मात्र होइन, अहिले विश्वव्यापी रूपमै अर्थव्यवस्था राम्रो नभएको धेरैको धारणा छ । यसरी हेर्दा नयाँ व्यवसाय शुरू गर्न अहिलेको समय त्यति उचित जस्तो देखिँदैन । तर व्यवसायको क्रममा जुनसुकै समयमा पनि प्रतिकूल अवस्था सिर्जना हुन सक्ने भएकाले व्यवसायी आपैmले यसको व्यवस्थापन गर्न सक्नुपर्छ । त्यसैले कुनै पनि व्यवसाय शुरू गर्नुअघि उत्पादन वा सेवाको बजार माग कस्तो छ, उपभोक्ताको अपेक्षा के छ, उनीहरुको आर्थिक अवस्था कस्तो छ लगायत विषयमा अध्ययन गर्नु उपयुक्त हुन्छ ।
जतिसुकै बलियो आर्थिक व्यवस्था भए तापनि नयाँ व्यवसाय शुरू गर्नु जुवा खेल्नु जस्तै मानिन्छ । व्यवसाय सफल हुन्छ वा हुँदैन यकिन गर्न कठिन नै हुन्छ । कतिपय अवस्थामा त शुरुआतमा गति लिएको व्यवसाय पछि बजारमा आएको प्रतिकूलताले गर्दा डुबेको पनि देखिन्छ ।
१. योजना बनाउने
योजना बनाउँदा व्यवसाय शुरू गर्न ठिक समय र स्थान निक्र्योल गर्न सहज हुन्छ । साथै व्यवस्थित तरिकाबाट योजना तर्जुमा गर्दा नयाँ अवसरहरू पहिचान गर्न र स्पष्ट रणनीति बनाउन पनि मद्दत पुग्छ । यसरी नै बनाएको योजनालाई राम्ररी विश्लेषण गरेमा व्यवसायले आगामी दिनमा कस्तो गति लिन्छ भन्ने मूल्याङ्कन गर्न पनि सघाउँछ । व्यापार योजना लक्षित उपभोक्ता, तथा बजारलाई केन्द्रमा राखेर बनाउनु पर्छ । यसो गरेमा योजना स्पष्ट तथा व्यवहारिक हुन्छ । एक उत्कृष्ट योजनाबाट आफ्नो कमजोरी पनि थाहा हुन्छ, जसलाई बेलैमा पहिचान गरेर समाधान गर्न सकिन्छ ।
व्यवसायको लागि लगानीकर्ताको पनि आवश्यकता हुन्छ । स्पष्ट योजनाले मात्र लगानीकर्तालाई आकर्षित गर्छ ।
२. बजार माग
धेरै स्टार्टअप असफल हुनुको कारणमध्ये एक हो उत्पादन बजार उपयुक्त नहुनु । यसकै कारण करिब ४२ प्रतिशत स्टार्टअपहरू असफल हुन्छन् । व्यवसाय शुरू गर्नु अघि बजार अध्ययन गर्दा यो समस्या आउने सम्भावना कम हुन्छ ।
बजार माग उत्पादनको मूल्य, उपभोक्ताको आर्थिक अवस्था तथा प्राथमिकतामा निर्भर हुन्छ । यसको पहिचान गर्दा उत्पादनको विक्रि वितरण तथा यसले बटुल्ने पूँजी कति हुन्छ भन्ने सम्भावना निर्धारण गर्न समेत मद्दत पुग्छ । साथै उपभोक्ताको आर्थिक अवस्था र उत्पादनको लागत दुवैलाई सन्तुलनमा राखेर मूल्य निर्धारण गर्न पनि यसले सहयोग पु¥याउँछ । यसरी नै यसबाट उपभोक्ता छनोट गर्न पनि सहज हुन्छ ।
बजार माग विश्लेषण तथा निर्धारण गर्दा मौसमी तथा अल्पकालीन आर्थिक अवस्थामा आधारित मागलाई पनि ध्यान दिन आवश्यक हुन्छ ।
३. सम्बन्धित उद्योगबारे पर्याप्त जानकारी राख्ने
कुनै पनि व्यवसाय शुरू गर्नु अघि व्यवसाय सम्बन्धित उद्योगको अवस्था कस्तो छ, आय कति छ, यस क्षेत्रमा प्रतिस्पर्धी व्यवसायी कति छन् लगायत विषयको राम्ररी विश्लेषण गर्नुपर्ने हुन्छ ।
नयाँ उद्योग व्यवसाय शुरू गर्दा ग्राहकलाई उत्पादन वा सेवासँग परिचित गराउन केही समय तथा पूँजी खर्च हुन सक्छ । यसका लागि समयमै स्रोत जुटाउनु उचित हुन्छ । तर पहिले नै स्थापित उत्पादन सम्बन्धी व्यवसाय शुरू गर्दा प्रतिस्पर्धा धेरै भए तापनि उपभोक्तालाई उत्पादनसँग परिचित गराउन समय वा पूँजी खर्च गर्नु पर्दैन ।
४. आवश्यक स्रोत खोज्ने
पर्याप्त पूँजी तथा मानविय स्रोत विना व्यापार शुरू गर्न सकिँदैन । कुनै एक प्रभावकारी टिमको साथ तथा सहयोगविना व्यवसाय अघि बढाउन गाह्रो हुन्छ ।
व्यवसाय शुरू तथा संचालन गर्न कति स्रोत साधन खपत हुन्छ भन्ने व्यवसायको प्रकारमा निर्भर हुन्छ । आफ्नो व्यवसाय कस्तो खालको हो र यसको संचालनमा कति खर्च हुन्छ पहिल्यै विश्लेषण गरेर स्रोत जुटाउनु अत्यावश्यक हुन्छ ।
५. पूँजीमा पहुँच
कुनै पनि उद्योग व्यवसाय शुरू गर्न पूँजी चाहिन्छ । यसको लागि कि आफैसँग पर्याप्त पूँजी हुनुपर्छ या त कुनै वित्तय संस्थाबाट ऋण खोज्नु पर्छ । बाहिरका लगानीकर्तालाई आफ्नो व्यवसायमा लगानी गर्ने वातावरण मिलाउनु पनि पूँजी स्रोत जुटाउने अर्को उपाय हो ।
आफूसँग पर्याप्त पूँजी नभएमा लगानीकर्ता राम्रो विकल्प हुन सक्छन् । तर स्टार्टअपको लागि भने लगानीकर्ता पाउन कठिन नै देखिन्छ । यद्यपि स्पष्ट योजना बनाएर आफ्नो सीप तथा ज्ञानका प्रभावले लगानीकर्तालाई अत्प्रेरित गर्न सकिन्छ ।
कुनै पनि नयाँ व्यापार, व्यवसाय शुरू गर्न कठिन नै हुन्छ । तर सटिक योजना, रणनीतिक सोच, पर्याप्त लगानी लगायत कुरालाई ध्यानमा राखेर व्यवसाय शुरू गर्दा सफलता त्यति टाढा पनि छैन । व्यापार, व्यवसायमा आर्थिक चुनौती सामान्य नै मानिन्छ । स्पष्ट योजनाको साथ बजारको माग बुझेर र आवश्यक स्रोतहरू सुरक्षित गरेर चुनौतीहरूलाई पन्छाउँदै व्यवसाय शुरू गर्ने हो भने यसले राम्रै गति लिन सक्छ ।
(एजेन्सीको सहयोगमा)