काठमाडौं, २८ भदौ । काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि सञ्चालन हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संविधान दिवशको अवसर पारेर ३ असोजदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ । २०७२ को भूकम्पले भत्किनुअघि संघीय सरकारले काठमाडौं महानगरपालिकालाई धराहरा सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो । महानगरपालिकाले एक निजी कम्पनीलाई ठेक्कामा दिएको थियो ।
बिहीबारको मन्त्रिपरिषद बैठकले धरहरा सञ्चालनसम्बन्धी यसअघिका सबै निर्णय खारेज गरेको छ ।
तत्कालीन प्रधानमन्त्री भीमसेन थापाको पालामा बनेको धरहरा २०७२ वैशाख २१ गतेको भूकम्पबाट ढलेको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्रि केपी शर्मा ओलीका पालामा ढलेको धरहरासँगै त्यसकै अर्को प्रतिस्वरुप बनाइएको छ ।
उक्त नयाँ धरहराको २०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । तीन वर्षअघि नै उद्घाटन गरेको धरहरा सर्वसाधारणका लागि बल्ल सञ्चालनमा आउने भएको हो । उद्घाटन भएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकेपछि प्रधानमन्त्री ओलीले १४ साउनमा मन्त्री तथा सचिवहरूलाई धरहरा छिटो सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए ।
बाहिरबाट हेर्दा पुरानै डिजाइनको ११ तला जस्तो देखिने धरहरामा अहिले भित्री संरचना २२ तलाको छ । यसको उचाइ जमिनबाट ८३ दशमलव ५८ मिटर छ । १९९० सालको भूकम्पअघि धरहरा ११ तला अग्लो थियो । त्यसबेला २ तला भत्किएर ९ तलामा सीमित बनेको थियो । अब यसमा दुइटा लिफ्ट जडान गरी धरहरा चढ्न सकिने सुविधा मिलाइँदै छ । भूकम्पले भत्किएको पुरानो धरहरा संरचना भग्नावशेष भने खुलारूपमा अवलोकन गर्न सकिने गरी सुरक्षित राखिएको छ ।