काठमाडौं, ३० भदौ । आइतबार बस्ने तय भएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ ।
गत साउन १४ गते सरकारले विभिन्न १७ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो । प्रस्तावित राजदूतको सुनुवाइ सकिएको छ । उनीहरूबारे निर्णय गर्नका लागि बस्ने भनिएको बैठक बस्दै नबसी स्थगित भएको हो । समिति सदस्यहरूको व्यस्तताका कारण देखाउँदै अर्को सूचना नआएसम्मको लागि बैठक स्थगित भएको समिति सचिवालयले जनाएको छ ।
सरकारले भारतका लागि शंकरप्रसाद शर्मा, जर्मनीका लागि डा. शैल रूपाखेती र डेनमार्कका लागि प्रस्तावित सुम्निमा तुलाधरलाई सिफारिस गरेको छ ।
इजरायलका लागि धनप्रसाद पण्डित, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान र साउदी अरबका लागि नरेशविक्रम ढकालको नाम प्रस्तावित छ ।
यस्तै दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे, दक्षिण अफ्रिकाका लागि प्रा.डा. कपिलमान श्रेष्ठ, स्पेनका लागि सनिल नेपाल, श्रीलंकाका लागि रामकृष्ण भट्टराई, बेलायतका लागि चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मीको नाम सिफरिस गरेको छ ।