काठमाडौं, १ असोज । निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम स्थगित गरेको छ । स्थानीय तहको उपनिर्वाचत आगामी मंसिर १६ गते गर्ने तय भएसँगै आयोगले मतदाता नामावली दर्ता स्थगित गरेको हो ।
मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा (२) (२) बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता नहुने व्यवस्था छ । सो व्यवस्थाबमोजिम मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य स्थगन गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।
आइबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १६ गतेका लागि उपनिर्वाचनको मिति तोकिसकेको छ । आयुक्त थपलियाका अनुसार सोमबारसम्म दर्ता नामावलीमात्र मान्य हुनेछ । आयोगले सोमबारकै निर्णयबाट मंगलबारदेखि मतदाता नामावली संकलन गर्न रोक्ने निर्णय गरेको उनले बताए ।
निर्वाचनको मिति घोषणा भएको अनौपचारिक जानकारी पछि सोमबार बसेको आयोगको बैठकले नामावली संकलन रोक्न देशभरका जिल्ला निर्वाचन कार्यालयमा परिपत्र गर्ने निर्णय समेत गरिसकेको छ ।
३ स्थानीय तहका प्रमुख तथा अध्यक्षसहित ४१ स्थानमा आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।