काठमाडौं, १ असोज । गत वर्षको तुलनामा सरकारको पूँजीगत खर्चमा सुधार आएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष आव (२०८१/८२) को भदौ मसान्तसम्ममा सरकारको पूँजीगत खर्च १४ अर्ब ८९ करोड ४० लाख रुपैयाँ भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ८२ दशमलव ४३ प्रतिशले बढी हो । गत आवको सोही अवधिमा पूँजीगततर्फ ८ अर्ब १६ करोड ३९ लाख मात्र खर्च भएको थियो ।
सरकारले यस वर्ष पूँजीगत खर्चतर्फ छुट्याइएको वार्षिक बजेट विनियोजनको ४ दशमलव २३ प्रतिशत खर्च गरेको छ । चालू आवका लागि सरकारले पूँजीगत खर्चतर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गत आवको २ महिनामा सरकारले यस्तो खर्च वार्षिक बजेट विनियोजनको २.७ प्रतिशत मात्र गरेको थियो । सो वर्षका लागि सरकारले ३ खर्ब २ अर्ब ७ करोड बजेट विनियोजन गरेको थियो ।
घट्यो चालू खर्च
सरकारको यस वर्षको चालू खर्च भने घटेको छ । चालू आवको पहिलो दुई महिनामा सरकारले चालूतर्फ ८२ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ खर्च गरेको छ, जुन गत आवको भदौको तुलनामा ५ दशमलव ३३ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा सरकारले चालूगत तर्फ ८७ अर्ब ६६ करोड ३५ लाख खर्च गरेको थियो ।
चालू वर्षको ११ खर्ब ४० अर्ब ६६ करोडको लक्ष्य रहेको चालूगत खर्चमध्ये २ महिनामा ७ दशमलव २८ प्रतिशत खर्च भएको छ । गत वर्ष यस्तो खर्च ७ दशमलव ६८ प्रतिशत अर्थात ८७ अर्ब ६६ करोड ३५ लाख रुपैयाँ थियो । सो वर्षका लािग चालूतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड बजेट विनियोजन गरेको थियो ।
भदौसम्ममा सरकारले वित्तीय व्यवस्थापनतर्फ वार्षिक बजेट विनियोजनको १० दशमलव ८ प्रतिशत प्रतिशत खर्च गरेको छ । यस वर्षका लागि वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब २८ करोड रुपैयाँ बजेट विनियोजन गरेको सरकारले भदौ मसान्तसम्ममा ३९ अर्ब ६७ करोड २२ लाख खर्च गरेको छ ।
राजस्व संकलनमा १७ प्रतिशतले वृद्धि
चालू आवको दुई महिनामा सरकारले राजस्वमार्फत १ खर्ब ६६ अर्ब ३८ करोड रुपैयाँ आम्दानी गरेको छ, जुन गत आवको भदौको तुलनामा १७ दशमलव ९४ प्रतिशतले बढी हो । गत आवको साउन र भदौमा सरकारले १ खर्ब ४१ अर्ब ७ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।
सरकारले यस वर्षका लागि १४ खर्ब १९ अर्ब ३० करोड राजस्व उठाउने लक्ष्य राखेको छ, जसमध्ये ११ दशमलव ७२ प्रतिशत राजस्व संकलन गरिसकेको छ । गत वर्ष भदौसम्म लक्ष्यको ९ दशमलव ९२ प्रतिशत राजस्व संकलन गरेको थियो ।