अस्मिता सापकोटा
काठमाडौं। २ असोज । चीन विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको देश हो । कम्युनिष्ट विचार धारामा आधारित (जनवादी गणतन्त्र) शासन प्रणाली रहेको यस देश एसियाको ठूलो अर्थतन्त्र हो । साथै उसको आर्थिक वृद्धिलाई नियाल्दा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने महत्वाकांक्षा टाढा लाग्दैन । यद्यपि चीनको उक्त महत्वाकांक्षा कोभिड–१९ तथा घरजग्गा कारोबारमा आएको संकटले ठप्प पारेको देखिन्छ । साथै देशको जनसंख्या पनि यस लक्ष्यमा बाधा बनेको देखिन्छ । यहाँ युवा जमात भन्दा वृद्धहरुको संख्या धेरै हुँदै गएको छ भने केटाकेटीको संख्या पनि तुलनात्मक रुपमा कम नै छ । यसले काम गर्ने र देशको अर्थतन्त्रमा टेवा पु¥याउने जनसंख्याको कमी हुने सम्भावना देखाउँछ ।
चीनको संयुक्त राज्य अमेरिकालाई पछि पार्दै विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने होड दशकौंदेखि नीतिनिर्माता र अर्थशास्त्रीहरूको लागि चर्चाको विषय बनेको छ । यद्यपि एक अधिनायकवादी देशले ७५ करोड कार्यबलको साथ अमेरिका जस्तो सबैभन्दा गतिशील र उत्पादक अर्थतन्त्र भएको देशलाई पछाडि पारेमा के होला भनेर उनीहरू अहिले नै अनुमान गर्न सक्दैनन् ।
सन् २००८÷९ को आर्थिक संकट अमेरिका र युरोपको अर्थतन्त्र वृद्धिमा धेरै वर्षसम्म बाधक बनेपछि चीन अमेरिकाको अर्थतन्त्रलाइ पछाडि पार्दै विश्वकै पहिलो ठूलो अर्थतन्त्र कहिले हुन्छ त भन्ने जस्ता भविष्यवाणीहरू हुँदै आएका छन् ।
२००८ पछिको दशकको ठूलो आर्थिक मन्दीअघि पनि चीनमा लगातार पाँच वर्ष दोहोरो अंकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को वृद्धि भएको थियो । संकटपछिको दशकमा पनि कोभिड–१९ नआउँदासम्म चीनको अर्थतन्त्र वार्षिक ६% देखि ९% ले विस्तार भइनै रहेको थियो ।
यद्यपि कोभिड महामारीले अर्थव्यवस्थालाई घुँडा टेकाइरहेको बेला चीनको घरजग्गा कारोबार ओरालो लाग्यो । त्यतिबेला चीनको अर्थतन्त्रको एक तिहाइ हिस्सा प्रपर्टी मार्केटले नै ओगटेको थियो । यसले देशलाई धेरै नै नोक्सान पु¥यायो । सोही समयमा पश्चिमासँगको व्यापार सम्बन्धमा पनि ह्रास आयो र यसले देशको अर्थतन्त्र वृद्धिलाई झनै कमजोर बनायो ।
२०१० को दशकमा चिनियाँ अर्थतन्त्रले यति धेरै समस्याहरूको सामना ग¥यो कि, करिब एक वर्ष पहिले ‘पिक चाइना’ भन्ने नयाँ शब्दको उदय भयो । उक्त शब्दले चीनको अर्थतन्त्र उच्च ऋण, सुस्त उत्पादकत्व, कम खपत र जनसंख्या वृद्धिसँग संघर्ष गरिरहेको देखाउँछ । साथै ताइवानमाथिको तनाव र पश्चिमासँगको व्यापारमा कमी जस्ता विषयहरूले पनि चीनको आर्थिक सर्वोच्चताको उदयमा ढिलाइ हुन सक्ने वा यो कहिल्यै हुन नसक्ने अनुमान गरियो ।
यद्यपि रेन्मिन युनिभर्सिटी अफ चाइनाको चोङयाङ इन्स्टिच्युट फर फाइनान्सियल स्टडीजका वाङ वेनले पीक चाइनाको धारणा ‘मिथ’ भएको बताए । साथै चीनको कुल आर्थिक उत्पादन सन् २०२१ मा अमेरिकी उत्पादनको झण्डै ८०% पुगेको उनको भनाइ छ ।
जबसम्म पेचिङले ‘आन्तरिक स्थिरता र बाह्य शान्ति’ कायम राख्छ, चिनियाँ अर्थतन्त्रले छिट्टै अमेरिकालाई उछिन्ने वाङको दाबी छ । उनले लाखौं ग्रामीण चिनियाँहरूको सहरी क्षेत्रमा सर्ने इच्छा भएको उद्धृत गरे ।
चीनको अहिलेको सहरीकरण दर ६५% मात्रै भएको र भविष्यमा ८०% मात्र हुने हो भने पनि ग्रामीण क्षेत्रबाट २० करोडदेखि ३० करोड मानिस सहरी क्षेत्रमा प्रवेश गर्ने र यसले वास्तविक अर्थतन्त्रमा ठूलो वृद्धि हुने वाङको आकलन छ ।
‘उच्च उत्पादकत्वका कारण सन् २००० को प्रारम्भमा चिनियाँ अर्थतन्त्र द्रुत गतिमा बढेको थियो,’ टोरोन्टो विश्वविद्यालयका अर्थशास्त्र प्राध्यापक लोरेन ब्रान्डले भने । सन् १९७८ मा सुरु भएको सुधारले पहिलो तीन दशकमा उत्पादकता बढेको र यसले चीनको जीडीपी वृद्धिको करिब ७० प्रतिशत हिस्सा ओगटेको उनले बताए ।
यसैगरी वित्तीय संकटपछि चीनको उत्पादकत्व वृद्धिमा कमी आएको र अहिले २००८ भन्दा अघिको वृद्धिसँग तुलना गर्दा त्यसको एक चौथाइ मात्र हुन सक्ने चिनियाँ अर्थतन्त्रका विशेषज्ञको भनाइ छ ।
चीनको कुल ऋण जीडीपीको ३०० प्रतिशतभन्दा बढी पुगेको छ भने यसको ठूलो हिस्सा स्थानीय सरकारको स्वामित्वमा छ । साथै गएको १२ महिनामा विदेशी प्रत्यक्ष लगानी (एफडीआई) पनि लगातार घटेको छ । २०२४ को पहिलो पाँच महिनामैै यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८.२ प्रतिशतले घटेको छ । देशले नयाँ प्रविधिको उत्पादन बढाउन ठूलो लगानी गरे पनि पेचिङका केही व्यापार साझेदारहरूले चिनियाँ आयातमा प्रतिबन्ध लगाएका छन् ।
चीनमा प्रथम श्रेणीको पूर्वाधारमा लगानी गर्ने ठूला अर्थतन्त्र भए तापनि यसको वृद्धिलाई दिगो बनाउने गरी सदुपयोग नभइरहेको ब्रान्डले बताए ।
राष्ट्रपति सी चिनफिङको शासनमा उद्योगको राज्य स्वामित्वमार्फत पेचिङ अर्थतन्त्रको थप केन्द्रीकरणतर्फ अघि बढेको छ भने चीनका अन्य नेताहरूले भविष्यमा आन्तरिक उपभोग बढाउन केन्द्रित हुने र देशलाई विदेशी निर्यातमा कम निर्भर बनाउने लक्ष्य लिएका छन् ।
‘यति हँुदाहँुदै पनि धेरै सामाजिक कार्यक्रमहरूले तीव्र आर्थिक वृद्धिलाई निरन्तरता दिन सकेको छैन,’ ब्रान्ड भन्छन् । साथै चिनियाँहरूले अहिले स्वास्थ्य सेवा, शिक्षा र निवृत्तिभरणका लागि उच्च लागतको सामना गर्नु परिरहेको र हालैको ‘प्रपर्टी क्य्रास’ले पनि घरायसी सम्पत्तिलाई ३०% सम्म घटाएको उनको भनाइ छ ।
सन् २००० को दशकको उत्तराद्र्धमा चीनको अर्थतन्त्रमा झण्डै दुई तिहार्ई योगदान निजीक्षेत्रको थियो । तर गतवर्षको सुरुमा यसको हिस्सा ४०% मा झरेको छ भने राज्यद्वारा सञ्चालित र मिश्रित–स्वामित्व क्षेत्रहरू उल्लेखनीय रूपमा बढेका छन् ।
फच्र्युन म्यागजिनको प्रमुख ग्लोबल कर्पोरेसनको रेटिङमा चीनसँग अहिले सबैभन्दा धेरै फर्महरू भएको उल्लेख छ । यद्यपि ती कम्पनीहरू अमेरिकी बहुराष्ट्रिय कम्पनीहरूको तुलनामा कम लाभदायक देखिन्छन् ।
केही यस्ता कारकहरूले गर्दा चीनको अर्थतन्त्रलाई जापानको जस्तै नियति भोग्न बाध्य पार्न सक्ने चिन्ता छ । दोस्रो विश्वयुद्धपछि जापानले एक समय आर्थिक चमत्कारको अनुभव गरेको थियो । आर्थिक वृद्धिको चरम सीमामा यसले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा अमेरिकालाई उछिन्ने केही अर्थशास्त्रीहरूले भविष्यवाणी गरेका थिए । यद्यपि सन् १९९२ को दशकपछि जापानको अर्थव्यवस्था कमजोर हँुदै गयो ।
तर चीनको सवालमा यस्तो नहुने चिनियाँ अर्थशास्त्रीहरूको भनाइ छ । उनीहरूले देशको औद्योगिक उत्पादन अमेरिकाको भन्दा ठूलो भएको औँल्याएका छन् । ‘गतवर्ष चीनको जीडीपी वृद्धिदर अमेरिकी दरको दोब्बरभन्दा बढी थियो । विगत ४५ वर्षमा चीनको विकासले धेरै आर्थिक समस्याहरूको सामना गरेको छ,’ वाङले भने । साथै ३० वर्षअघिको मन्दी, २० वर्षअघिको उच्च ऋण र १० वर्षअघिको आवासीय दुर्घटनाको तुलनामा अहिलेको समस्या गम्भीर नभएको उनको भनाइ छ ।
(डिडब्लुको सहयोगमा)