काठमाडौं, ४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज (शुक्रबार) उनी न्युयोर्क प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्रीले असोज १० गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्ने छन् ।
अमेरिका भ्रमण क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम छ । यस लगायत ओली अन्य कार्यक्रममा पनि सहभागी हुनेछन् ।
भ्रमण टोलीमा ओलीकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साल र सरकारका वरिष्ठ अधिकारी छन् ।
ओली असोज १४ गते स्वदेश फर्कनेछन् ।