काठमाडौं, ७ असोज । चालू आर्थिक वर्ष २०८१÷८२ को भदौमा घरजग्गा कारोबारमा ह्रास आएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार भदौ महिनामा ३२ हजार ७ सय ९८ वटा घरजग्गा किनबेच भएको छ, जुन साउनको तुलनामा २५ दशमलव १७ प्रतिशतले कारोबारमा कमी आएको हो । गत साउनमा ४३ हजार ८ सयभन्दा बढीको कारोबार भएको थियो ।
देशभरको मालपोत कार्यालयहरूबाट माथि उल्लिखित सङ्ख्यामा घरजग्गाको कारोबार भएको हो ।
गत आवको भदौको तुलनामा पनि यस वर्ष घरजग्गा कारोबार ८ दशमलव ०९ प्रतिशतले घटेको छ । गत आवको भदौमा ३५ हजारभन्दा बढी घरजग्गा कारोबार भएको थियो ।
यस्तै सरकारले चालू आवको भदौमा घरजग्गा कारोबारबाट ३ अर्ब ९ करोड २ लाख ५९ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ, जुन गत साउनको तुलनामा १९ दशमलव ४२ प्रतिशतले कम हो । गत साउनमा घरजग्गा कारोबारबाट ३ अर्ब ८३ करोड ५० लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।
यद्यपि, गत आवको भदौको तुलनामा भने घरजग्गा कारोबारबाट प्राप्त राजस्व बढेको विभागको तथ्याङ्कले देखाउँछ । गत आवको भदौमा घरजग्गा किनबेच हुँदा ३ अर्ब ४ करोड ५९ लाख मात्र राजस्व उठेको थियो ।
हाल सरकारले घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व संकलन गर्दै आएको छ । चालू आवको भदौमा सरकारले सेवाकरबाट मात्रै २५ करोड ५५ लाख ९८ हजार रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै रजिष्ट्रेशन दस्तुरबापत १ अर्ब ९७ करोड ६० लाख रुपैयाँ र पूँजीगत लाभकरबापत १ अर्ब १३ करोड लाख राजस्व उठाएको छ ।
भदौभर सबैभन्दा धेरै भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलबाट आम्दानी भएको छ । यस कार्यालयले भदौमा सेवा कर, रजिष्ट्रेशन दस्तुर, डोर सुविधा, पूँजीगत लाभ कर, विलम्ब शुल्क गरी ३० करोड ६१ लाख ५८ हजार ६ सय ४० रुपैयाँ राजस्व संकलन गरेको छ ।
भूमिसुधार तथा मालपोत कार्यालय पछि धेरै राजस्व संकलन गर्नेमा डिल्लीबजार, काठमाडौँ रहेको छ । डिल्लीबजारले सो अवधिमा २७ करोड १३ लाख ८५ हजार ८ सय ६७ रुपैयाँ राजस्व उठाएको छ ।
भदौ महिनामा मालपोत कलंकी काठमाडौँले २६ करोड ८१ लाख ३१ हजार, भक्तपुर मालपोत कार्यालयले २४ करोड ७५ लाख १२ हजार, कास्की कार्यालयले १२ करोड ९२ लाख र चाहविल, काठमाडौँले १२ करोड ३७ लाख राजस्व उठाएको छ ।