काठमाडौं, ९ असोज । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको छ ।
भेटका क्रममा दुई देशका आफसी हित र सहयोगबारे छलफल भएको बताइएको छ । भेटमा चीनका उपप्रधामन्त्री हि लिफेङले चीन सरकारको तर्फबाट विगतमा गरिएका घोषणा एवम् सहमति बमोजिम सहयोगका परियोजनाहरुको कार्यान्वयनलाई तीव्रता दिने बताए । उनले आगामी दिनमा नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
सोही अवसरमाा अर्थमन्त्री पौडेलले केरुङ–काठमाडौँ रेल निर्माण, टोखा–छहरे सुरुङ मार्ग, किमाथाङ्का–हिले, हिल्सा–सुर्खेत–भुरीगाउँ सडक, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, दमक औद्योगिक पार्क लगायतका पूर्वाधार निर्माणलाई अघि बढाउन अनुरोध गरेका छन् । साथै चीनका विभिन्न शहरबाट भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाइ सेवा विस्तारका लागि सहयोग गर्न उनले आग्रह गरे ।
भेटर्वार्तामा नेपालका तर्फबाट अर्थमन्त्री पौडेल, चीनका लागि नेपालका कार्यबहाक राजदूत सुरेन्द्र यादव, अर्थ मन्त्रालयका प्रवक्ता भट्टराई, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीहरु सहभागी थिए भने चीन सरकारको तर्फबाट उपप्रधानमन्त्री हि लिफेङ, यातायात मन्त्री लि स्याओफङ, बेइजिङ महानगरका मु फङ, नेशनल रेलवे एडमिनिस्ट्रेसनका प्रमुख फे दोङ विङ, नागरिक उडड्यन प्रमुख सोङ च्योङ लगायतका अधिकारी सहभागी थिए ।
अर्थमन्त्री पौडेल चीनका उपप्रधानमन्त्री ही लिफेङको निमन्त्रणामा सोमबार राति चीन गएका थिए ।
भ्रमणका क्रममा उनले चीन सरकार र ग्लोबल सस्टेनेबल ट्रान्सपोर्ट इनोभेसन एन्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सस्टेनेबल ट्रान्सपोर्ट फोरमलाई सम्बोधन गर्ने छन् । पौडेल आगामी शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।